पत्रकार र सांसदमाथि अर्थमन्त्रीको टिप्पणीप्रति ज्ञवालीको आपत्ति

काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आफूमाथि उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिन आग्रह गरेका छन् । अर्थमन्त्री वाग्लेले पत्रकार र सांसदप्रति गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै तथ्यगत जवाफ दिन ज्ञवालीले आग्रह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै ज्ञवालीले अर्थमन्त्रीको आलोचना गर्ने सञ्चारमाध्यमहरूलाई ‘खोस्टा’ भन्न नमिल्ने बताएका छन् । “कतिपय सीमाहरू होलान्, तर मिडियाहरू लोकतन्त्रका पहरेदार हुन्,” उनले लेखेका छन् । आर्थिक विधेयकमा गरिएको परिवर्तनका कारण नै अर्थमन्त्रीमाथि प्रश्न उठेको उल्लेख गर्दै वाग्लेले संसद्को अवमूल्यन हुने गरी ‘नीतिगत सेटिङ’ गरिएको आरोप लागेको बताएका छन् ।

उक्त परिवर्तनले राजस्व संरचनामा ठूलो प्रभाव पारेको र त्यसको लाभ सीमित व्यक्ति वा घरानाले पाएको उनले दाबी गरे । ज्ञवालीले अर्थमन्त्रीले उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिनुको सट्टा व्यक्तिगत आरोपमा उत्रिएको टिप्पणी गरे । पत्रकारहरूलाई ‘माइक्रोसफ्ट वर्ड चलाउन नजानेका’ भन्दै उपहास गरिएको र आलोचक सांसदहरूलाई धम्कीपूर्ण शैलीमा प्रस्तुत भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । “त्यस्तो कैफियत भएका कोही छन् भने कानुनसम्मत कारबाही गर्न कसले रोकेको छ र? ” ज्ञवालीले लेखेका छन्, “तर यस्तो उत्तेजनाले तपाईंप्रति झन् गम्भीर प्रश्न खडा गर्छन्, होइन र ?” अर्थमन्त्री वाग्लेको पछिल्लो अभिव्यक्तिपछि आर्थिक विधेयक र करसम्बन्धी विषयमा राजनीतिक बहस थप चर्किएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *