दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम

काठमाडौँ । भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बतका धर्म गुरु दलाइ लामाको ९१औँ जन्मदिनका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई लिएर कूटनीतिक क्षेत्रमा प्रश्न उठेको छ । ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहँदै आएको नेपालले तिब्बती निर्वासित नेता लामाको जन्मदिनका अवसरमा राजधानीमै कार्यक्रम आयोजना गर्न दिएका कारण विवाद उत्पन्न भएको हो । दलाई लामालाई आस्थाको रूपमा मान्ने नेपालमा रहेका उनका अनुनायीले गत सोमवार उनको जन्मदिवस मनाएका छन् । यसरी लामाको जन्मदिवस मनाइनु ‘एक चीन’ नीति विपरीत भएको भन्दै नेपालका पूर्वप्रधानमन्त्रीदेखि लिएर पूर्वमन्त्री तथा पूर्वराजदूतहरूले आपत्ति जनाएका छन् ।

नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले समेत यसबारे सरकार समक्ष चासो राखेका छन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘दलाई लामाको जन्मदिवस यस्तो चर्चाको विषय बनेको छ, पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्रीहरूको धारणा आइरहेकोे छ भने चीन चुप कसरी बस्न सक्छ ? उसले पनि आफ्नो तरिकाले बुझ्ने काम गरिरहेको छ ।’ आधिकारिक रूपमा चिनियाँ अधिकारीले सोधखोज नगरे आफ्ना स्रोतहरूलाई मन्त्रालयसम्म पठाएको बताउँदै ती अधिकारीले भने, ‘चीनको आधिकारिक कुरा आएको छैन । यता परराष्ट्र मन्त्रालयले यस बारेमा अध्ययन गरिरहेको छ । आवश्यक परे मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गर्नेछ ।’ ती अधिकारीले भनेजस्तै परराष्ट्र मन्त्रालयले दलाई लामाको जन्मदिवस मनाइएको घटनाबारे अध्ययन गरिरहेको छ । जन्मदिवस मनाउनेदेखि लिएर वरिष्ठ व्यक्तिहरूबाट आएको विज्ञप्तिको अध्ययन भइरहेको स्रोतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *