महिन्द्राको पार्टपुर्जा बेचेर बालाजु अटो वर्क्सले ९ महिनामै गर्यो पौने अर्ब बढीको व्यापार

काठमाडौं। अग्नी ग्रुपअन्तर्गतको बालाजु अटो वर्क्सले ९ महिनामै पौने अर्ब बढीको व्यापार गरेको छ। नेपालमा महिन्द्रा सवारीसाधनको आधिकारिक पार्टपुर्जा बिक्रेता तथा सर्भिसिङ प्रदायक यो कम्पनीले चालू आर्थिक वर्षको ९ महिनामा ८२ करोड रुपैयाँ बराबरको व्यापार गरेको हो। कम्पनीले गत वर्ष एक अर्ब ५ करोड ७० लाख र अघिल्लो वर्ष १ अर्ब ८ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। कम्पनीले देशभर रहेका आफ्ना सेवा केन्द्र र डिलर नेटवर्कमार्फत पार्टपुर्जा बिक्री र मर्मत सेवाबाट उक्त आम्दानी गरेको हो। इक्रा नेपालले कम्पनीको ६३ करोड रुपैयाँ बराबरको अल्पकालीन ऋण सुविधाका लागि ‘ए फोर प्लस’ रेटिङ प्रदान गरेको छ। हालको ९ महिनाको तथ्यांकले कम्पनीको व्यापारिक लयगत वर्षकै अनुपातमा स्थिर रहेको देखाउँछ। चालू आर्थिक वर्षको ९ महिनाको कुल ८२ करोड रुपैयाँ सञ्चालन आम्दानीअनुसार कम्पनीले औसतमा मासिक ९ करोड ११ लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको हो। सन् १९५६ मा स्थापित यो कम्पनीलाई पछि अग्नी ग्रुपले खरिद गरेको थियो। हाल कम्पनीले देशभर आफ्नै १७ वटा सर्भिस सेन्टर र ३५ वटा क्षेत्रीय डिलर नेटवर्कमार्फत सेवा तथा पार्टपुर्जा बिक्री गर्दै आएको छ।

महिन्द्रा ब्राण्डको नेपालमा रहेको बलियो उपस्थिति र वारेन्टी अवधिभित्रका सवारीको अनिवार्य सर्भिसिङले गर्दा कम्पनीको व्यापारमा दिगोपन देखिएको छ। कम्पनीमा क्याबिनेट श्रेष्ठ, सुसन वैद्य श्रेष्ठ र अर्जुनप्रसाद शर्माको लगानी रहेको छ। कम्पनीको पूँजीगत संरचना निकै सबल देखिएको छ। प्रतिवेदनअनुसार कम्पनीको ऋण र स्वपूँजीको अनुपात करिब ०.६ गुणा मात्र छ। जसले वित्तीय जोखिम कम रहेको संकेत गर्छ। यस्तै, कम्पनीको ब्याज भुक्तानी गर्ने क्षमता २.३ गुणा रहेको छ। पर्याप्त स्वपुँजी र बैंक कर्जाको उचित उपयोगका कारण कम्पनीको वित्तीय स्वास्थ्य सन्तोषजनक रहेको इक्राको विश्लेषण छ। कम्पनीको व्यापार सन्तोषजनक रहे पनि चालूपूँजी व्यवस्थापनमा भने केही दबाब देखिएको छ। उच्च इन्भेन्टरी (स्टक) राख्नुपर्ने बाध्यताका कारण चालूपुँजीको तीव्रता ५१ प्रतिशत पुगेको छ। यसले गर्दा कम्पनीको नगद प्रवाहमा केही प्रभाव पर्न सक्ने देखिएको छ। यस्तै, बजारमा उपलब्ध हुने अनधिकृत पार्टपूर्जा र सवारी साधनको आयातमा हुने नीतिगत परिवर्तनलाई कम्पनीका लागि मुख्य चुनौतीका रूपमा हेरिएको छ। सरकारले भन्सार दर वा करमा गर्ने फेरबदलले प्रत्यक्ष रूपमा पार्टपूर्जाको मूल्य र मागमा असर पार्ने देखिन्छ। यद्यपि, अग्नी ग्रुपको लामो अनुभव र महिन्द्राको ब्रान्ड भ्यालुले गर्दा मध्यम अवधिमा कम्पनीको व्यापारिक भविष्य सुरक्षित रहेको रिपोर्टमा उल्लेख छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *