कांग्रेसमा विज्ञ र क्षमतावानलाई भित्र्याउन ‘ल्याटरल इन्ट्री’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बाहिर रहेका विज्ञ र क्षमतावान व्यक्तिहरूलाई पार्टीमा भित्र्याउन ‘ल्याटरल इन्ट्री’को नीतिगत व्यवस्था गरिएको बताएका छन् । बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बिहीबार आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा महामन्त्री घिमिरेले उक्त भनाई राखेका हुन् । पार्टीको नीतिगत पक्षलाई बलियो बनाउन पार्टीले कदम चालिसकेको महामन्त्री घिमिरेले बताए । कांग्रेसमा नयाँ नेतृत्व चयन भएपछि सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा टिकट वितरणमा पक्षपात नभएको दाबीसमेत उनले गरे ।
सत्ता र सदनमा कांग्रेसको भूमिका प्रभावकारी बनाउन पार्टी सभापतिको नेतृत्वमा समन्वय समिति गठन गरिएको जानकारी घिमिरेले दिए । सत्ता र संसद्मा पार्टीको भूमिकालाई व्यवस्थित गर्न पार्टी–संसद सहजीकरण संयन्त्र क्रियाशील रहेको छ, घिमिरेले भने, पार्टीलाई थप लोकतान्त्रिक बनाउने सन्दर्भमा प्रारम्भिक निर्वाचनको व्यवस्था गरिएको छ भने पार्टी बाहिर रहेका विज्ञ र क्षमतावान व्यक्तिहरूलाई भित्र्याउन ‘ल्याटरल इन्ट्री’को नीतिगत व्यवस्था गरिएको छ । उनले पार्टी सदस्यता अध्यावधिक गर्ने अभियानलाई देशभर सञ्चालन गरिएको पनि बताए ।

















