स्थापित नेतृत्वको विकल्प चमत्कारी शक्ति हुन सक्दैन : सांसद शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद युवराज शर्माले स्थापित राजनीतिक दल र नेतृत्वलाई बिर्सिएर अचानक उदाएका शक्तिहरूबाट मुलुकको रूपान्तरण सम्भव नहुने बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले बिपी कोइराला, गणेशमान सिंह र पुष्पलाल जस्ता नेताहरूले त्याग गरेर निर्माण गरेको लोकतान्त्रिक जगलाई नजर अन्दाज गर्न नमिल्ने बताए । सांसद शर्माले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट उदाएका नयाँ राजनीतिक दल र नेतृत्वप्रति लक्षित गर्दै भने– ‘अकस्मात् धुरन्धर बनेर उदाएकाहरूको परीक्षण नागरिकले मतदानमार्फत गरिसकेका छन्। त्यसको प्रारम्भिक नतिजा देखिइसकेको छ, अन्तिम नतिजा हेर्न केही समय कुर्नैपर्छ।’ शर्माले इतिहास र त्यागको जग नभएका शक्तिहरूले दिगो परिवर्तन ल्याउन नसक्ने दाबी गरे । सांसद शर्माले वर्तमान सरकारले लोकतान्त्रिक विधि र कानुनी प्रक्रियालाई मिचेर निर्णय गर्ने गरेको आरोप लगाए ।

सरकारका कतिपय निर्णयहरू अदालतबाट बदर हुनुले सरकारको असफलता पुष्टि गर्ने उनको तर्क थियो। ‘हिजोकै जस्तो लोकतान्त्रिक विधि मिच्ने कार्य भइरहेको छ, जसका कारण सरकारले पटक–पटक न्यायालयबाट थप्पड खाइरहेको छ । सांसद शर्माले राजनीतिक दलका नेताहरूमा देखिएको धार्मिक चासोको समेत आलोचना गरे । ‘जब कांग्रेसका नेताले घरभित्र गरेको पूजा सार्वजनिक गर्छन् र कम्युनिस्ट नेताले पशुपतिनाथमा सवा लाखको पूजा गर्छन्, तब म विचलित हुन्छु,’ उनले भने । सरकारले सुशासन र जनजीविकाका सवालमा काम गर्न नसकेको भन्दै उनले राहदानी विभागको भीड, किसानले मल र उब्जनीको मूल्य नपाएको अवस्था र बढ्दो महँगीबारे सरकारको ध्यानाकर्षण गराए । नेपाल ‘सम्पत्ति शुद्धीकरण’को ग्रे–लिस्टमा पर्नु र सङ्गठित अपराधका आरोपीलाई उन्मुक्ति दिने प्रयास हुनुले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धमिलिएको उनको भनाइ थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *