पार्टी रूपान्तरणको बहसप्रति ओलीले दिए हुल्याहाहरूले गरेको हुलदंगाको संज्ञा
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पछिल्लो समय उठिरहेको पुनर्गठन र रूपान्तरणको आवाजलाई ‘केही हुल्याहाहरूले गरेको हुलदङ्गा’ को संज्ञा दिएका छन्। फरक मत राख्नेहरूलाई पार्टी छाडेर जान चेतावनी दिँदै ओलीले अनुशासनहीनता सह्य नहुने धम्की पनि दिएका छन्। शनिबार इलामको फिक्कलमा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र चलिरहेको रूपान्तरणको बहसप्रति तिखो टिप्पणी गरेका हुन्। ‘पार्टीको कुरा गर्दा केन्द्रीय कमिटीदेखि तलसम्म, अध्यक्षदेखि साधारण सदस्यसम्म र आबद्ध सबै जनवर्गीय संगठनहरू मिलेर पार्टी बन्छ,’ ओलीले भने, ‘पार्टी फुटेका बेला अनेक नेता गए पनि हामीले हैसियतका साथ पार्टीलाई उठायौँ र सर्वाधिक लोकप्रिय पार्टी बनायौँ। अहिले पार्टी फुटेको छैन, केही हुल्याहाहरूले हुलदङ्गा गरेका मात्र हुन्।’ ओलीले गएको निर्वाचनमा कम भोट आएको विषय गम्भीर भएको उल्लेख गरे। ‘२८ लाख भोट आएको ठाउँमा १४ लाख मात्र भोट आउनु गम्भीर कुरा हो,’ उनले भने, ‘पार्टी सदस्य धेरै हुने तर भोट कम आउने अवस्थालाई सुधार्नु छ। साथीहरूलाई इमानदार बनाउनु छ। पार्टी नबदल्ने, भोट बदल्ने जस्ता कुरा लाजमर्दो हो। यहाँको भात खाने तर काम अन्तै गर्ने ? यस्तो हुनुहुँदैन।’ एमालेभित्र अहिले ओली पार्टी सचिवालयमै अल्पमतमा छन्।
त्यसैले सचिवालय बैठक बोलाउन आनाकानी गर्दै उनले केन्द्रीय सदस्यहरूलाई मनाउने प्रयास जारी राखेका छन्। उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका बहुसंख्यक पदाधिकारी आफ्नो विपक्षमा उभिएका बेला इलाम पुगेका उनले त्यसप्रति तीव्र रोष प्रकट गरेका हुन्। ‘अहिले देखिएको अनुशासनहीनता र अराजकतालाई हामीले रोक्नुपर्छ। पार्टी अफिसको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने कुरा गर्नेरु चिया खाँदै, समोसा खाँदै, अध्यक्ष हटाऊँ, भन्नेरु यस्तो अराजकता चल्दैन,’ ओलीले अगाडि भने, ‘हस्ताक्षर गर्दै हिँडेका छन्, तर यसको केही अर्थ छैन। महाधिवेशनको एउटा विधि, प्रक्रिया र समय हुन्छ। जतिबेला विरोधीले तीव्र प्रहार गरिरहेका छन्, त्यतिबेला सिंगो पार्टी एकजुट भएर सामना गर्नुपर्ने ठाउँमा भित्रैबाट यस्ता कुरा गर्नु बेकार हो।’ उनले दृढ विश्वास राख्न कार्यकर्तालाई आग्रह गर्दै केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ एकताबद्ध बनाएर लगिने बताए। ‘पार्टीको विरोध गरेर, सामाजिक सञ्जालमा जे पायो त्यही लेखेर हिँड्न पाइँदैन। पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नु पर्छ।
अर्को पार्टीमा जाने हो भने त्यहीँको अनुशासन पालना गरे हुन्छ,’ ओलीको चेतावनी थियो, ‘पार्टीमा काम नगर्ने हो भने घरै बसे हुन्छ। तर पार्टीमा काम गर्ने हो भने नीति, नियम र अनुशासन मान्नै पर्छ। सम्झाउँदा पनि नमान्नेलाई विधि र विधान अनुसार कारबाही गरिन्छ।’ आफूहरू धक्का खाएको अवस्थामा रहेको ओलीको भनाइ थियो। ‘हामी धक्का खाएको र अप्ठ्यारो स्थितिमा छौँ। तर महाधिवेशनले निर्वाचित गरेको यो केन्द्रीय कमिटी आफ्नो अभिभारा छोडेर भाग्नेवाला छैन। अत्यधिक मतले मलाई अध्यक्ष बनाउनुभएको छ। पार्टी अप्ठ्यारोमा पर्दा जिम्मेवारी फालेर भाग्ने मान्छे म होइन,’ ओलीले भने। उनको भनाइ थियो ‘अप्ठ्यारो परिस्थिति संग जुधेर यहाँसम्म आएका हौँ। अहिलेका यी उच्छृङ्खल तत्वहरूले आगो लगाउँदा हामी भाग्ने होइनौँ। यसको सामना गरिन्छ, पराजित गरिन्छ। फेरि जनता, देश र लोकतन्त्रलाई जिताइन्छ। संविधानको रक्षा र देशको विकास गरी समृद्ध नेपाल, सुखी नेपाली बनाइन्छ।’ पार्टीमा कुनै ठूलो विग्रह हुनेवाला छैन भन्दै ओलीले कार्यकर्तालाई आश्वस्त पार्न खोजेका छन्। उनले भने ‘यहाँ उपस्थित थुप्रै केन्द्रीय सदस्यहरूको राय छ कि पार्टी बलियो, सुदृढ र एकताबद्ध हुनुपर्छ। यो भावनाका साथ पार्टी अगाडि बढ्छ। म दृढताका साथ अगाडि बढ्छु र साथीहरूलाई पनि ढुक्क भएर अगाडि बढ्न आग्रह गर्दछु।’
















