आगामी डेढ महिनामा विपद्को उच्च जोखिम

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएको छ । सोमबार प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएका हुन् । नेपालमा यसवर्षको मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेको उनले बताए । नेपालमा मनसुन प्रवेशको औपचारिक मिति जुन १३ र मनसुन बाहिरिने औसत मिति अक्टोबर २ मानिन्छ । मनसुन बाहिरिनका लागि अझै एक महिना १४ दिन बाँकी छ । यो अवधिमा जोखिम झनै बढ्ने प्राधिकरणले बताएको छ । आज भदौको १ गते भएको हुनाले अब १ महिना १४ दिन मनसुनको अवधि बाँकी छ । १ महिना १४ दिन बाँकी छ । मनसुन अब कुनै बेला सक्रिय हुने कुनै बेला निष्क्रिय हुने हुन्छ । यो अवधिमा विपद्को जोखिम अझै उच्च हुनेछ, उप्रेतीले भने । प्राधिकरणले मनसुनको वर्षा देशभर समान रूपमा नभएको बताएको छ ।

मध्यपहाडी क्षेत्रका कतिपय स्थानमा खण्डवृष्टिका कारण ठूलो जनधनको क्षति भएको छ भने मधेस क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको छ । नेपालमा औसत वर्षा वार्षिक करिब एक हजार ४७० मिलिमिटर हुनेमा भदौ १ सम्म करिब ८२४ मिलिमिटर वर्षा भएको प्राधिकरणले जनाएको छ । यो कुल औसतको करिब ५५ प्रतिशत हो । तर वर्षाको समग्र परिमाणभन्दा यस वर्षको वितरण र प्रवृत्ति फरक देखिएको प्राधिकरणको भनाइ छ । पश्चिम नेपालमा आगामी तीन दिनमा भारी वर्षासम्म हुन सक्ने र तराई तथा मधेस क्षेत्रमा पनि ठूलो वर्षाको सम्भावना देखिएको प्राधिकरणले बताएको छ । प्राधिकरणले यस वर्षको असामान्य वर्षा प्रणालीलाई एल निनोको प्रभावसँग जोडेर हेर्न सकिने बताएको छ । हिन्द महासागरको ‘इण्डियन ओसन डाइपोल’ (आईओडी) को अवस्थाले पनि वर्षाको प्रवृत्तिमा प्रभाव पार्नसक्ने प्राधिकरणले जनाएको छ। हाल आईओडी तटस्थ अवस्थामा रहे पनि केही अन्तर्राष्ट्रिय मौसमी मोडलहरूले आगामी दिनमा यो सकारात्मक अवस्थामा जान सक्ने संकेत गरेको उनको भनाई छ। आईओडी सकारात्मक भएमा दसैँ–तिहारको आसपाससमेत वर्षाको सम्भावना रहने प्राधिकरणले बताएको छ । मनसुनसम्बन्धी जानकारी दिन एकीकृत सूचना प्रणालीको विकास गर्न लागेको पनि प्राधिकरणले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *