परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज

काठमाडौं । आइतबार परिवारसँग काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने यसपटकको ‘मेड इन नेपाल,मेड फर नेपाल’ पेभिलियन तपाईंको भ्रमणको सूचीमा छुट्न नहुने ठाउँ हो। गाडी, मोटरसाइकल र नयाँ प्रविधि हेर्न अटो शो पुग्ने अधिकांशको ध्यान ठूला अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडलमा जाने गर्छ। तर, नाडाले पहिलो पटक ‘मेड इन नेपाल मेड फर नेपाल’ को छुट्टै पेभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भइरहेका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई विशेष प्राथमिकता दिएको छ। यो पेभिलियनमा नेपाली उद्योगले उत्पादन गरिरहेका विद्युतीय मोटरसाइकल तथा स्कुटर, नेपालमा एसेम्बल भएका कार, अटोमोटिभ ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट, टायर तथा विभिन्न कम्पोनेन्टबारे प्रत्यक्ष जानकारी लिन सकिन्छ। नाडाका अनुसार यस पेभिलियनमा ८ वटा स्टल रहेका छन् ।
नेपालमै बनेको गाडीदेखि ब्याट्रीसम्म
यसपटकको पेभिलियनको सबैभन्दा आकर्षक पक्ष भनेको नेपालमा उत्पादन र एसेम्बलिङको सम्भावना देखाउने प्रयास हो। यात्रीको विद्युतीय स्कुटर, नेपालमा एसेम्बल गरिएका मेटा इभिदेखि हुन्डाईका सवारीसाधन तथा एसियन ब्याट्रिजका उत्पादनले स्वदेशमै अटोमोबाइल उद्योग विकास गर्न सकिने सम्भावना देखाइरहेका छन्।गाडी उत्पादनका लागि आवश्यक सबै सामग्री नेपालमै बन्ने अवस्था अझै बनिसकेको छैन। तर ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट, विभिन्न कम्पोनेन्टलगायतका क्षेत्रमा नेपाली उद्योगको उपस्थिति विस्तार हुँदै गएको छ। त्यसैले यो पेभिलियन केवल उत्पादनको प्रदर्शनी नभई नेपालको अटोमोबाइल उद्योग कहाँ पुगेको छ र कहाँ पुग्न सक्छ भन्ने बुझ्ने अवसर पनि हो।
परिवारसँग जाँदा बालबालिकाका लागि पनि फरक अनुभव
अटो शोमा ठूला र महँगा गाडी हेर्नु मात्र होइन, आफ्नै देशमा के उत्पादन भइरहेको छ भन्ने बुझ्न पनि सकिन्छ। परिवारसँग जाने अभिभावकले बालबालिकालाई नेपाली उद्योग, प्रविधि, विद्युतीय सवारी र रोजगारी सिर्जनाबारे प्रत्यक्ष रूपमा देखाउन सक्ने अवसरका रूपमा पनि यो पेभिलियनलाई लिन सक्छन्। अटो शो आयोजक नाडाका संयोजक अनुप बरालका अनुसार यसपटक तीन लाख वर्गफुट क्षेत्रमा २०० भन्दा बढी स्टल राखिएका छन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी छन्। त्यसका अतिरिक्त बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटो पाट्र्स, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन पनि प्रदर्शनीमा राखिएका छन्।
परिवारसँग के हेर्ने ?
परिवारसँग अटो शो पुग्दै हुनुहुन्छ भने घुमाइलाई केही व्यवस्थित बनाउन सकिन्छ। पहिलो, ‘मेड इन नेपाल÷मेड फर नेपाल’ पेभिलियनमा पुगेर नेपाली उत्पादन र एसेम्बलीबारे जानकारी लिनुहोस्।
दोस्रो, आफूलाई मन परेको नयाँ ईभी, कार वा मोटरसाइकलको मूल्य, रेन्ज, फिचर्स र बिक्रीपछिको सेवाबारे कम्पनीका प्रतिनिधिसँग बुझ्नुहोस्।
तेस्रो, बालबालिकालाई नयाँ प्रविधि र भविष्यको मोबिलिटीबारे जानकारी दिनुहोस्। यसपटक अटो शोमा ह्युमानोइड रोबोट र क्वाड्रुपेड रोबोटसमेत विशेष आकर्षणका रूपमा राखिएका छन्।
चौथो, तत्काल गाडी किन्ने योजना नभए पनि विभिन्न ब्रान्डको प्रविधि र मूल्य तुलना गरेर भविष्यका लागि जानकारी संकलन गर्न सकिन्छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती भन्छन्, ‘परिवारसँग अटो शो घुम्ने हो भने विदेशी ब्रान्डका चम्किला गाडी मात्र होइन, नेपालमै बन्न थालेका सवारी र अटोमोबाइल सामग्रीको कथा पनि हेर्न नछुटाउनुहोस्।’ ‘यसपटकको नाडा अटो शोमा ‘मेड इन नेपाल’ हेर्नु भनेको केवल एउटा स्टल हेर्नु होइन, नेपालको अटोमोबाइल उद्योगको सम्भावना हेर्नु पनि हो।’ उप्रेतीले भने । त्यसका अतिरिक्त बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटो पाट्र्स, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन पनि प्रदर्शनीमा राखिएका छन्। नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *