बाढीपीडितका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६५ लाख सहयोग

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संस्थागततर्फबाट ५५ लाख रुपैयाँ र बैंकका कर्मचारीहरूको तर्फबाट १० लाख रुपैयाँ गरी कुल ६५ लाख रुपैयाँ सहयोग गरेको हो । भोटेकोशी बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको र नागरिकको दैनिक जीवन प्रभावित भइरहेको अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायलाई सहयोग गर्ने मानवीय प्रयासमा बैंकले ऐक्यबद्धता जनाएको छ । बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै बाढीपछि हालसम्म सम्पर्कविहीन रहेका नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *