बाढीपीडितका लागि सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग
काठमाडौं । बाढीपीडितका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विपद्का कारण प्रभावित परिवारको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि कम्पनीले उक्त रकम सहयोग गरेको जनाएको छ । सहयोग रकममध्ये सिटिजन लाइफका सिटिजन लिडर्सका तर्फबाट १८ लाख ६७ हजार रुपैयाँ र कर्मचारीका तर्फबाट २१ लाख ३३ हजार रुपैयाँ योगदान रहेको कम्पनीले जनाएको छ ।
सहयोग रकम सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव दिप बहादुर बिसीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । यसैबीच, विपद्का कारण प्रभावित आफ्ना बीमित तथा उनीहरूका परिवारजनको अवस्थाबारे जानकारी लिन कम्पनीले प्रभावित क्षेत्रका सम्पूर्ण अभिकर्ता तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको जनाएको छ । प्रभावित बीमित वा उनीहरूका परिवारमा बीमा दाबीसम्बन्धी आवश्यकता देखिएमा आवश्यक समन्वय गरी दाबी प्रक्रिया सहज, छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न सहजीकरण गर्न पनि कम्पनीले निर्देशन दिएको छ ।















