प्रधानमन्त्री उद्धार कोषमा सगुन साकोसको २ लाख ५३ हजार योगदान

सर्लाही । हरिवनमा मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५३ हजार २ सय २२ रुपैयाँ योगदान गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गरेको हो ।

संस्थाका प्रबन्धक रविन्द्र रानाले उक्त कोषमा संस्थाको तर्फबाट दुई लाख २२ हजार २२२ रुपैयाँ र कर्मचारीहरुको तर्फबाट ३१ हजार रुपैयाँ गरी दुई लाख ५३ हजार २२२ रुपैयाँ जम्मा गरिएको जानकारी दिए । विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु नै मानवता भएको संस्थाले जनाएको छ । संस्थाले यस दुःखद् र कठिन घडीमा सबै नागरिक, व्यवसायिक संस्था, उद्योग, बैंक तथा विभिन्न संघ–संस्थाहरूलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्न संस्थाकातर्फबाट सबैमा हार्दिक अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *