निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन ? : महामन्त्री पौडेल
काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्न लागिएको भन्ने चर्चाबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै पौडेलले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा राखिएको विषयमा प्रश्न उठाएका हुन्। उनले उक्त अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको भन्ने विषयमा जवाफ दिनुपर्ने बताएका छन्। प्रहरीले बरामद गरेको मोबाइल अनुसन्धान गर्ने प्रहरीकै नियन्त्रणमा हुनुपर्ने भन्दै उनले अनुसन्धानको महत्त्वपूर्ण डिजिटल प्रमाण प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा कसरी पुग्यो भन्ने प्रश्न गरेका छन्।
‘विधिको शासन भएको भए यतिबेला अनुसन्धानको कठघरामा हुनुपर्ने व्यक्ति हुन्—प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेन। प्रश्न गम्भीर छन्। फरेन्सिक परीक्षण हुनुअघि इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा किन राखियो ? त्यो अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको भन्ने विषयमा उठेका प्रश्नहरूको जवाफ कसले दिने ?,’ उनले लेखेका छन्। उनले इनम सापकोटा र प्रधानमन्त्री तथा उनको सचिवालयबीचको सम्बन्धबारे पनि अनुसन्धान हुनुपर्ने बताएका छन्। पौडेलले मुलुकी अपराध संहिता, २०७४ का दफा ९२ र ९३ लगायत प्रमाण नष्ट गर्ने, कसुरदारलाई जोगाउने तथा अनुसन्धान प्रभावित पार्ने कार्यसँग सम्बन्धित कानुनी व्यवस्थाको स्मरण गराएका छन्। ‘निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन ?’ उनले प्रश्न गरेका छन्। आफूमाथि उठेका प्रश्नबाट ध्यान मोड्न गिरफ्तारीको हल्ला चलाएर राजनीतिक आक्रमण गरिएको उनको आरोप छ। उनले निष्पक्ष अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन्। ‘गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन। सत्ताको आडले सत्य लुक्दैन। हिम्मत छ भने पहिले आफूमाथि उठेका प्रश्नहरूको जवाफ देऊ,’ पौडेलले लेखेका छन्।

















