अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक- रघुजी पन्त

काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नु आपत्तिजनक भएको बताए । सांसद पन्तले भने, “कुनै पनि बाह्य देशका सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपालभित्र पसेर यसरी खोजबिन गर्ने अधिकार दिएको छैन । नेपाल स्वतन्त्र सार्वभौम देश हो, यसले आफ्नो आत्मनिर्णयको अधिकार आफैँ प्रयोग गर्छ ।” उनले नेपाल–भारत खुला सिमाना अपराधको अखडा भएको भन्दै सीमा नियन्त्रण गर्ने र बाह्य हस्तक्षेप रोक्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दिया जिल्लामा बाघको आक्रमणबाट स्थानीयमा बढिरहेको असुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराए । उनले बाघ संरक्षणबारे स्पष्ट नीति र स्थानीयको सुरक्षाको माग गरे।

उनले भने, “बर्दिया जिल्लामा बाघले मान्छेलाई आक्रमण गर्नेक्रम रोकिएको छैन । वन्यजन्तु संरक्षण सुरु भएयता संरक्षणकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण गरी चार सय ५० बढीले ज्यान गुमाइसकेका छन् ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले पार्टीतर्फका सांसद ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे पार्टीले छानबिन गरिरहेको जानकारी दिए । “छानबिनको अवधि पूरा नभएसम्म पार्टीको साधारण सदस्य र सांसदका रुपमा कुनै भूमिका गर्न नगराउन पार्टीले निर्देशन दिइसकेको छ । हामी बैठक बसिरहँदा सम्भवतः उनको स्पष्टीकरण आइसक्यो होला”, सांसद परियारले भने ।

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले रास्वपाका सांसद श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे प्रतिनिधिसभाभित्रै समिति बनाएर छानबिन गर्न माग राखे । उनले भने , “आजकै दिनमा यही बैठकबाट संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दछु ।” सांसद गुरुङले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने आश्वासनमा ठगी गर्नेलाई समेत तत्काल छानबिन र दोषीलाई कारबाही गर्न माग गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले रास्वपाका सांसद श्रेष्ठको विवादास्पद टेलिफोन रेकर्डबारे गठबन्धनका नेताहरु जवाफदेही हुनुपर्ने बताए । उनले भने, “गठबन्धन सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको हो र ? गठबन्धनका नेताहरुले यस संसद्मा यसबारे बोल्नुपर्छ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *