सुकुमबासीलाई बालबालिकाको पढाइ र रोजगारीको चिन्ता
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका थापाथली, सिनामङ्गल, मनोहरा, शङ्खमूल, बालाजुलगायत विभिन्न स्थानका सुकुमबासी बस्ती खाली गराएर त्यहाँ बसोबास गर्दै आएका व्यक्तिहरूलाई स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । हाल दशरथ रङ्गशालामा ‘स्क्रिनिङ’ गरी उनीहरूलाई कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्सङ्ग, बोडेस्थित कृषि विकास बैङ्कको तालिम केन्द्र र भक्तपुरको खरिपाटीमा व्यवस्थापन गरिएको छ । होल्डिङ सेन्टरमा राखिएका अधिकांश परिवारको साझा चिन्ता भने अब बालबालिकाको पढाइ बनेको छ । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका डम्बर तामाङले छोरीले बनाएको चित्र देखाउँदै भने, सरकारले हामीलाई कता सार्छ भन्ने टुङ्गो छैन, तर छोरीको पढाइ बिग्रिने हो कि भन्ने चिन्ता छ । यहाँ आएको आठ दिन भयो, खाना र बस्न ठिक छ तर पढाइको व्यवस्था छैन । त्यहीँ बस्दै आएका मनोज महतोले पनि आफ्नो दुई सन्तानसहित चार जनाको परिवार रहेको बताउँदै बालबालिकाको शिक्षाका लागि व्यवस्था गरिदिन सरकारसँग आग्रह गरे । बच्चाको पढाइका लागि केही पहल गरिदिए धेरै सहज हुन्थ्यो । बासको अस्थायी व्यवस्थापन भए पनि कामको चिन्ताले धेरैलाई सताउन थालेको छ । थापाथली बस्तीबाट होल्डिङ सेन्टरमा आएका पदमबहादुर तामाङ पहिले घरमा रङ लगाउने काम गर्थे । बस्ती खाली गर्न सूचना आएसँगै उनले काम छाडेका थिए । अहिले उनी होल्डिङ सेन्टरमा टोलाउँदै दिन बिताउने गरेका छन् । उपत्यकामा सबै स्थानको बस्तीमा एकसाथ डोजर चल्दा धेरै मानिस घरबारविहीन भएका छन् । कतिपय होल्डिङ सेन्टरमा बस्दै आएका छन् भने कोही होटल वा आफन्तकोमा आश्रय लिइरहेका छन् । केहीले आफ्नै कोठा लिएर बसिसकेका छन् । तर, दैनिक ज्याला–मजदुरी गर्दै आएकाहरू भने अहिले कामविहीन भएका छन् । पहिले दैनिक काममा जाने उनीहरू अहिले होल्डिङ सेन्टरमा छटपटिँदै बसेको देखिन्छ । होल्डिङ सेन्टरको बसाइ राम्रो भए पनि सरकारले छिटो स्थायी बास र रोजगारीको व्यवस्था गरिदिनुपर्ने उनीहरूको माग छ ।
कीर्तिपुरको होल्डिङ सेन्टरको हाल राधा स्वामी व्यास सत्सङ्गले खानपानको जिम्मा लिएको छ । १६ गतेदेखि बिहान–बेलुकाको खाना तथा दुईपटक खाजा र चियाको व्यवस्था हुँदै आएको छ । यसअघि होटलबाट ल्याइने प्याकेटको खानेकुराप्रति गुनासो गर्दै आएका बासिन्दाहरू अहिले सन्तुष्ट देखिन्छन् । विजय मगर भन्छन्, ‘पहिले होटलको प्याकिङ खाना पर्याप्त र गुणस्तरीय थिएन । अहिले भने घरजस्तै खाना पाइन्छ, थपेर खान पनि पाइन्छ । सुरुका दिनमा खुला आकाशमुनि बस्नुपरेका उनीहरूले अहिले टेन्टको व्यवस्था भएपछि राहत महसुस गरेका छन् । करिब डेढ सयवटा टेन्टको व्यवस्थासँगै वर्षाका बेला पानीको बाछिटा आउने समस्या पनि समाधान भएको उनीहरूको भनाइ छ । सुत्केरी आमा र शिशुका लागि पौष्टिक खाना तथा दूधको व्यवस्था गरिएको छ । पाँच महिनाकी सुत्केरी अञ्जली पासवानले भनिन्, ‘बस्ने र खाने व्यवस्था राम्रो छ । बच्चाका लागि पनि पौष्टिक खाना उपलब्ध भइरहेको छ । त्यसैगरी, होल्डिङ सेन्टरमा स्वास्थ्य डेस्क सञ्चालनमा ल्याइएको छ, जहाँ बिरामी तथा आवश्यक परेकाहरूको नियमित स्वास्थ्य परीक्षण भइरहेको छ ।
















