एनआईएमबी एस क्यापिटल १३औं वर्षमा
काठमाण्डौं । एनआईएमबी एस क्यापिटल १३ओं वर्षमा प्रवेश गरेको छ। नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकरको रूपमा रहेको उक्त कम्पनीले आईपीओ जारी तथा बिक्री व्यवस्थापन, शेयर रजिस्टार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ। कम्पनीले सन् २०१४ मा नेपालको पहिलो म्युचुअल फण्ड योजना र २०१९ मा पहिलो खुला रुपी म्युचुअल फण्ड लन्च गरेको थियो। स्थापना १२ वर्ष पूरा भएको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाण्डेले १२ वर्षको कम्पनी हुनमा सबैभन्दा ठूलो योगदान ग्राहकवर्गको रहेको उल्लेख गर्दै अथक मेहेनत र लगावका साथ काम गर्ने कर्मचारीलगायत सरोकारवालालगायत सबैपक्ष धन्यवादको पात्र उल्लेख गर्दै लगानीकर्ता तथा ग्राहकवर्गको लगानीमा उच्चतम् आम्दानी प्रदान गर्ने बताए । हाल कम्पनीले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यांकन भएका पाँच वटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको ६ अर्ब रुपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्रस्थानमा राख्दै आएको बताएको छ ।
कम्पनीले हालसम्म ४१ लाखभन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गर्न सफल भएको बताएको छ । साथै कम्पनीले ५० हजारभन्दा बढी डिम्याट खाताहरु व्यवस्थापन गर्नुका साथै २०० भन्दा बढी आईपीओ तथा एफपीओ जारी गरिसकेको छ। सो अवसरमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष सचिन तिब्रेवालले अतिथिहरूलाई स्वागत गरेका थिए भने धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी र पूर्व मुख्य सचिव विमल कोइरालाले कम्पनीले हासिल गरेको उपलब्धिलाई बधाई दिंदै आगामी दिनमा पनि सफलताको कामना गरेका थिए । कम्पनीले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धकको रूपमा समेत धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेको छ। यस कम्पनीले १० अर्बभन्दा धेरैको लगानी क्षमता रहेको प्राइभेट इक्विटी फन्ड एनआईबिएल इक्विटी पार्टनर्सको व्यवस्थापन पनि गरिरहेको छ। हालसम्म एनआईबिएल इक्विटी पार्टनर्सले १ अर्बभन्दा बढी लगानी गरिसकेको छ भने भविष्यमा सक्रिय रूपमा थप कोष लगानी गर्ने योजना छ।कम्पनीले नेपालमा पहिलो खुलामुखी म्युचुअल फन्ड बजारमा ल्याउनुका साथै लगानीकर्ताको लागि विभिन्न विकल्पहरु प्रदान गर्दै आइरहेको छ। यसका साथै कम्पनीले लगानीकर्ताको लागि भविष्यमा थप लगानी विकल्पहरु ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।