नेपाली महिला भलिबल टिमको भारतविरुद्ध ऐतिहासिक जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टिमले काभा महिला नेसन्स लिगमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरको कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले भारतलाई ३–२ को सेटमा हरायो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–१८ र १५–१३ को स्कोरमा भारतलाई हराएको हो । कभर्डहलमा भरिभराउ दर्शकबीच खेलको पहिलो सेटमा नेपालले कुनै पनि बेला भारतलाई अग्रता बनाउन दिएन । उक्त सेटमा नेपालले ६–११ को स्कोरसहित पाँच अंकको अग्रता बनाउँदा दबाबमा आएको भारतले पहिलो टाइमआउट लिएको थियो । तर, त्यसपछि भारतले लगातार अंक जोड्दै स्कोर ११–१३ मा ल्याउँदा नेपालका प्रशिक्षक जगदीश भट्टले पहिलो टाइमआउट लिए । पहिलो सेटमा नेपालले सर्भिसबाट दुई अंक मात्र गुमाएको थियो । नेपालले २३–१८ को अग्रता बनाउँदा पुनः भारतले दोस्रोपटक टाइमआउट लियो । त्यसपछि पनि नेपालले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पारेको हो । महिला भलिबलको इतिहासमा नेपालले भारतविरुद्ध पहिलो सेट जितेको यो पहिलोपटक हो । दोस्रो सेटमा भने नेपालले पहिलोको लय कायम राख्न सकेन । दोस्रो सेटमा भारतले सुरुआतमै २–० को अग्रता बनाएको थियो ।

दोस्रो सेटमा भारतविरुद्ध ६–८ ले पछि पर्दा नेपालका प्रशिक्षक भट्टले पहिलोपटक टाइमआउट लिएका थिए । भारतले दोस्रो सेटमा १४–९ को स्थितिसहित पाँच अंकको अग्रता बनाएको थियो । यही स्थितिमा नेपालका प्रशिक्षक भट्टले दोस्रोपटक टाइमआउट लिए । त्यसपछि नेपालले तीन र भारतले ११ अंक जोड्दै सेट जितेको हो । दोस्रो सेटमा पनि नेपालले सर्भिसमा दुई अंक गुमाएको थियो । तेस्रो सेटमा पुनः नेपाल लयमा फर्कियो । तेस्रो सेटमा नेपालले १०–७ को अग्रता बनाउँदा भारतले पहिलो टाउमआउट लिएको थियो । पुनः नेपालले १७–९ को अग्रता बनाउँदा भारतले दोस्रोपटक टाइमआउट लियो । तेस्रो सेटमा नेपालले सर्भिसबाट तीन अंक गुमाएको थियो । चौथो सेटमा भारतले पुनः पुनरागमन गर्‍यो । भारतले चौथो सेट २५–१८ ले जित्यो । त्योसँगै खेल पाँचौँ सेटसम्म लम्बिएको हो । चौथो सेटमा नेपालले सर्भिसबाट एक अंक गुमाएको थियो । पाँचौँ तथा निर्णायक सेट नेपालले १५–१३ ले जित्यो । सुरुमै नेपालले २–० को अग्रता बनाएको थियो । त्यसपछि स्कोर नेपालतर्फ ५–२ हुँदा भारतका प्रशिक्षकले पहिलोपटक टाइमआउट लिएका थिए । भारतले स्थिति ७–८ मा ल्याएपछि नेपालका प्रशिक्षकले पहिलोपटक टाउमआउट लिएका थिए । पाँचौँ सेटमा सर्भिसबाट नेपालले एक अंक मात्र गुमायो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *