शर्माले पार्टी फुटाउँछन् भनेर आफूले भने कहिल्यै नसोचेको : अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड
काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने हल्ला असत्य साबित भइसकेको बताएका छन् । पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भए पनि त्यो आन्तरिक छलफलपछि हटेको र भ्रम चिरिएको उनको भनाइ छ । उनले शर्माले पार्टी फुटाउँछन् भनेर आफूले भने कहिल्यै नसोचेको बताए । प्रतिक्रियावादी आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत उनले लगाए । उनले आफू र उपमहासचिव शर्माबीच आगो ठोस्सिएजस्तो ठोसिने सम्बन्ध रहेको बताए । तर, त्यो सम्बन्धले पार्टीलाई एकताबद्ध बनाउन मद्दत पु¥याएको उनको निष्कर्ष छ । उनले उपमहासचिव शर्माले पार्टी फुटाउने भन्ने विषयको भ्रमलाई स्थायी कमिटी बैठकबाट पनि खारेज गरिदिएको बताए । पार्टीभित्र खुला छलफल गर्न दिने सोचानुसार आफूले पछिल्ला बैठक सञ्चालन गरेको उनले उल्लेख गरे ।
कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि अहिलेसम्म हामी अक्षुण्ण रूपले सँगै काम गर्दै आएका छौँ । तर, उहाँले भनेजस्तो उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा त सिंगै देशले बुझेकै कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोस्सिएझैँ ठोस्सिनेचाहिँ गरेका छौँ । अहिले मात्रै होइन, जनयुद्धकालमा पनि, जनयुद्धपछि पनि र अहिले पनि । तर, यो अगुल्टो ठोस्सिएजस्तो ठोस्सिनु आगो बाल्नका लागि, खान पकाउनका लागि, राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु, योपटक अझ राम्रो हुनेछ । यो विवाद र बहसले अझ पार्टीलाई एकताबद्ध गर्न, अझ उहाँको र मेरोबीचमा बेलाबेलामा हुने आशंकाहरू दूर गर्न र आफ्नो समझदारीलाई मजबुत गर्न मद्दत गर्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु ।
योपटकको बैठकहरू मैले अलि भिन्न रूपले सञ्चालन गर्ने सोचेको छु । र, विवाद र आशंकाको बीचमा पनि, विवाद र बहसको बीचमा पनि मैले सबै कमरेडहरूसँग, प्रभाकरजीसँग पनि कसरी लैजाने त बैठकलाई भन्ने सल्लाह गरेर खुला छलफल गर्न दिऊँ, यसले पार्टीलाई बलियो बनाउन मद्दत गर्छ भन्ने समझदारीअनुसार बैठक अघि बढेका छन् । हामीले खुला हृदयले मनभित्र भएका सही हुन् वा गलत, मनोगत हुन् वा वस्तुगत हुन्, जे छन् भित्र, त्यो बाहिर आओस् । मलाई भनिएको थियो– प्रचण्डको अगाडि पर्दा मिठाराम्रा कुरा गर्ने, हाम्रो महान् नेतृत्व भन्ने, कोठाबाट निस्केर गएपछि धारे हात लगाउनेको संख्या बढेको छ । मलाई थाहाचाहिँ हुन्थ्यो, को–कोले के गर्दछन् भनेर । तर, मैले भित्र जे छ, त्यो बाहिर आओस् भन्ने सोचेर नै बैठकलाई नयाँ ढंगले लिएर जाने जमर्को गरियो । स्थायी समितिसम्म आउँदा प्रभाकरले भनेजस्तै त्यो राम्रोतिर अगाडि बढेको छ । एउटा भ्रम पार्टी फुट्ला कि भन्ने मैले त प्रभाकरले पार्टी कहीँ फुटाउँदै छन् भनेको पनि छैन । सोचेको पनि होइन । तर, भ्रम नै भ्रम, वरिपरिकाले भन्दै जाने, अर्कोले भन्दै जाने गर्दा साँँच्चै पार्टी फुटाउन त हिजो पनि प्रतिक्रियावादीहरू लागेका हुन्, आज पनि लागेका छन् । माओवादी पार्टीलाई टुटाउन त प्रतिक्रियावादीहरू लागि नै रहन्छन् । कहीँ न कहीँ आशंकाको तुवाँलो थियो । स्थायी समिति बैठकको समापनसम्म आउँदा म तपाईंहरूलाई बडो गर्वका साथ भन्न सक्छु– त्यो तुवाँलो हटेको छ । पार्टी फुटको भ्रम चिरिएको छ । र, प्रतिक्रियावादी षड्यन्त्रलाई स्थायी समिति बैठकले खारेज गरेको छ । प्रभाकरले पार्टी फुटाउँदै छ भन्ने कुरा असत्य हो भन्ने मान्यता स्थापित गरिएको छ । यो तपाईं हामी सबैको लागि खुसीको कुरा हो ।