संविधान र कानुनलाई समाजले आदर्श दस्तावेजका रुपमा लिनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा शनिबार सिंहदरबारमा आयोजित मुलुकी संहिता दिवस विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानूनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने संस्थाहरुलाई स्वच्छ र जिम्मेवार तुल्याउनुपर्नेमा जोड दिए । नेपालले न्याय क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्दै आएको जनाउँदै प्रधानमन्त्री ओलीले दक्षिण एसियामा कानून र संविधान निर्माणजस्ता विषयमा नेपाल अगाडि नै रहेको बताए । हामी नेपाली समाजलाई एउटा न्यायसम्मत समाजका रुपमा विकास र सञ्चालन गर्न चाहान्छौँ । सामाजिक सुप्रबन्धका लागि विश्वमा राजनीति, राज्य र कानूनको आविष्कार हुँदै आएको छ । समाजको चेतना र संस्कृति अनुकूल संविधान र कानून बनेका हुन्छन् प्रधानमन्त्री ओलीले भने, न्याय स्थापनाका लागि न्यायसम्मत राज्य र कानूनसम्मत समाजको परिचालन आवश्यक छ । संविधान र कानुनलाई समाजले आदर्श दस्तावेजका रुपमा लिनुपर्छ भन्ने नागरिक चेतना हुनुपर्छ, अन्यथा समाजमा डिजअर्डर कायम हुन्छ ।
कानूनको कार्यान्वयनका लागि सरकारका तर्फबाट गर्नुपर्ने कामका लागि हाम्रो पहल हुनेछ । नेपालमा २०७५ भदौ १ गतेबाट विभिन्न संहिता कानूनहरु लागु भएको सन्दर्भमा मनाइएको दिवसमा प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता सार्वभौमसत्तासम्पन्न हुने भएकाले सामूहिकरुपमा पहल भएमा संसद्ले संविधान संशोधन गर्न सक्ने बताए । यसका लागि हामी सबैले आफूलाई म भन्ने अर्थमा नभई नागरिक दायित्व ग्रहण गरेर राष्ट्रियभावका साथ प्रस्तुत भएमा संविधान र कानूनको पालना सहज हुनेछ, उनले भने,पहिले पहिले अदृष्य बन्धनका रुपमा रहेका धर्म र नैतिकताका आधारमा पनि न्याय गर्न सकिन्थ्यो । अहिले सामाजिक बन्धनहरु कमजोर भएका छन् । समाजमा इमानबाट चल्ने अदृष्य बन्धन रहेन । जसले जे गरे पनि हुन्छ भन्ने भएको छ । त्यस कारण शिक्षा र सामाजिक बन्धनलाई प्रवर्द्धन गर्न आवश्यक छ । कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालगायत उपस्थित थिए ।