प्रधानमन्त्री ओली सहभागि हुने भएपछि बालेनले गरे इन्द्रजात्रा बहिष्कार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन भारतको बैंगलोरमा रहेको पुष्टि भएको छ ।
सचिवालय स्रोतका अनुसार इन्द्रजात्रामा प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्ने परम्परा छल्न बालेन भारत गएका हुन । आफूले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भन्दै बालेन बैंगलोर गएको उनको सचिवालयले जनाएको छ । प्रत्येक वर्ष इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका उच्च पदस्थहरुलाई निम्ता गरिन्छ । उनीहरुलाई काठमाडौंका मेयर–उपमेयरले स्वागत गर्छन् ।
मंगलबार काठमाडौंमा इन्द्रजात्रा पर्व मनाइँदै छ । ओली र बालेनबीच पछिल्लो समय सार्वजनिक रुपमै भनाभन चलिहरेको छ । ओलीले सार्वजनिक कार्यक्रममा र बालेनले फेसबुकबाट एकअर्कालाई अपमानित र गालीगलोज गर्दै आएका छन् । बालेनले बैंगलोरबाटै प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्दै स्टाटसहरु लेखिरहेका छन् ।