सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डबिच सम्झौता
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डबिच कार्यसम्पादन सम्झौता भएको छ । मन्त्रालयमा मन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्डका अध्यक्ष दिनेश डीसीबिच चलचित्र विकास बोर्डले यो आर्थिक वर्षमा सम्पादन गर्ने कार्यहरूको सम्झौता गरिएको हो । सम्झौतामा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने वार्षिक कार्यक्रमहरू लगायत रहेका छन् ।
उक्त सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माणदेखि मोफसलका सिनेमाको स्तरोन्नतिका समेत योजनाहरू समेटिएका छन् । सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष डिसीले आगामी ६ महिनामा कार्यावस्थाको प्रारम्भिक प्रतिवेदन बुझाउने प्रतिबद्धता समेत व्यक्त गरे । सञ्चार मन्त्रालयले बोर्डको अलावा आफू मातहतका अन्य निकायहरूमा समेत सम्झौता गरेको थियो ।