एनसेलको १९ ‍औं वार्षिकोत्सव,सामाजिक पहलमा २० करोड योगदान गर्ने प्रतिबद्धता

काठमाडौं । एनसेलले १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले सामाजिक पहलमा २० करोड योगदान गर्ने प्रतिबद्धता जनाएको छ । एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी २ अर्ब भन्दा बढीको योगदान गरेको कम्पनीले जनाएको छ । ‘हाम्रा सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौं, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउन र दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्‍याउने बताएको छ । एनसेल फाउन्डेसनको उद्देश्य नेपालमा डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ । २०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको थियो । साथै आफ्ना परिवारजन तथा आफन्तहरूसँग सम्पर्कमा रही रहन कम्पनीले ग्राहकहरूलाई १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेवा सुविधाहरू निःशुल्क उपलब्ध गराएको थियो । कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड रुपैयाँ योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी रहेको एनसेलले बताएको छ ।

गत वर्षको जाजरकोट भूकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्‍याउन कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । साथै भूकम्प प्रभावित क्षेत्रका १० विद्यालयका कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो । त्यसैगरी, २०७१ सालमा, देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरू राहत तथा उद्धारका लागि प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गरेको थियो । १९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेलले आगामी ५ वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ । एनसेलले सन् २००५ मा आजकै दिन अर्थात् सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल) ले आफ्नो सेवा सञ्चालनमा ल्याएको थियो । नेपालको एक ठूलो करदाताको रूपमा आफ्नो स्थापनाकालदेखि आजसम्म ३२० अर्बभन्दा बढी सरकारलाई कर तथा शुल्क बुझाइसकेको एनसेलले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *