जोशीसँग बयान आज पनि जारी

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीको बयान आज पनि जारी रहनेछ । कास्की प्रहरीले उनीमाथि ठगी र संगठित अपराधमा अनुसन्धान थालेको छ । काठमाडौंको शंखमूलबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा लगिएको हो । उनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराइ पाँच दिनको म्याद लिइएको छ । कास्की प्रहरीका एक अधिकारीले दिएको जानकारीअनुसार सोमबार जोशीमाथि प्रारम्भिक बयान लिइएको थियो । आज पनि बयान जारी रहने उनले बताए । प्रारम्भिक बयानमा जोशीले सहकारीको रकम अपचलन प्रकरणमा तत्कालीन गृहमन्त्री रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) नै प्रमुख जिम्मेवार रहेको बताएका छन् । आइतबार पक्राउ परेका जोशीले कास्की प्रहरीको प्रारम्भिक बयानका क्रममा सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याउने र खर्च गर्ने भूमिकामा लामिछाने र राईकै भूमिका प्रमुख रहेको बयान दिएका हुन् । कास्की प्रहरी स्रोतका अनुसार, जोशीले बयानमा भनेका छन्,‘‘सहकारीको रकम अपचलनमा मेरो कुनै संलग्नता छैन । रवि र जीबी नै जिम्मेवार हुन् ।
उनले पटक पटक जीबी र रविको नाम लिएको प्रहरी स्रोत बताउँछ । गोर्खा मिडियामा रविको प्रवेशसँगै चेक काट्नेदेखि सबै काम उहाँ र जीबीलेमात्रै गर्नुभयो, हामीलाई यसबारेमा केही पनि जानकारी छैन, उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । उनले रविलाई छाडेर आफूलाई फसाउने योजना गरिएको हो ? भनी प्रहरीसँग प्रश्न गरेको स्रोत बताउँछ । जोशीलाई अदालतले दिएको म्याद अवधिभर थुनामै राखेर अनुसन्धान गरिने भएको छ । पक्राउलगत्तै उनलाई आइतबार नै पोखरा पठाइएको थियो । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक समेत रहेका जोशीमाथि तीनवटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग प्रहरीले गरेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुनेछ । प्रहरीका अनुसार, जोशीकै बयानका आधारमा रवि लामिछानेमाथि समेत पक्राउ अनुमति लिने कास्की प्रहरीको तयारी छ । जीबी राईमाथि भने गएको वर्ष नै पक्राउ पुर्जी जारी भएको थियो । हाल मलेसियामा रहेका राईमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत् प्रहरीले रेड नोटिससमेत जारी गरिसकेको छ । रेड नोटिस जारी हुँदा पनि पक्राउ गर्न नसकेपछि प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका दुईजना अधिकारीलाई मलेसिया समेत पठाएको थियो । मलेसिया पुगेका प्रहरीले जीबी राई बारे भने कुनै नयाँ तथ्य फेला पार्न सकेन । यद्यपी मेलेसिया प्रहरीले पक्राउ गर्न आवश्यक थप कागजात भने मागेको थियो । मलेसिया प्रहरीको मागअनुसार, नै प्रहरीले जीबी राईमाथि परेको उजुरी र अन्य कागजात समेत पठाइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *