रविमाथि अनुसन्धान गर्न अदालतले दियो प्रहरीलाई थप १० दिन
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १० दिनको म्याद थपेको छ । लामिछानेमाथि अनुसन्धानका लागि यो तेस्रो पटक म्याद थपिएको हो । लामिछाने यतिबेला जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका छन् । अनुसन्धानका लागि म्याद थपिएसँगै उनलाई बुटवल अदालतमा पनि उपस्थित गराउने तयारी गरिएको छ । प्रहरीले मंगलबार लामिछानेमाथि अनुसन्धानका लागि २५ दिनको म्याद थप मागेको थियो । उक्त १० दिनमा तिहार बिदासमेत गणना गरिने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । यसकारण उनलाई प्रहरीले चार दिनपछि अदालत पेस गर्ने छ । लामिछानेलाई मंगलबार म्याद थपका लागि अदालतल पेस गरिँदा रास्वपाका कार्यकर्ताहरुले पोखरामा प्रदर्शन गरेका छन् ।
सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका लामिछाने, छवि जोशीसहितलाई मंगलबार अदालत पेस गरिएको थियो । कास्की जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेलाई ७ दिन थप हिरासतमा राख्न अनुमति दिएको थियो । ८ गतेबाट सातदिन कात्तिक १४ गतेसम्म भए पनि १५ गतेबाट तिहार बिदा परेपछि बिदा सकिए लगत्तै लामिछानेलाई आज अदालत पेस गरिएको हो । सरकारी बिदा सकिएपछि कार्यालय खुलेको पहिलो दिन प्रहरीले आरोपीलाई अदालतमा उपस्थित गराउने गर्छ । अदालत तिहारको टीका सकिएको पर्सीपल्ट अर्थात २० गतेबाट मात्र खुलेपछि आज लामिछाने लगायतलाई प्रहरीले अदालतमा पेस गरेको हो । कात्तिक २ गते काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । अदालतले प्रहरीलाई सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्न अनुमति दिएको छ । गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा अघि बढाउने प्रहरी तयारी छ । राजनीतिक प्रतिशोधले पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै रास्वपा भने बिरोधमा उत्रिएको छ ।