रविको नाम हटाएर जीबी, छवि र कुमारविरुद्ध संगठित अपराध मुद्दा

काठमाडौं । चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको मुद्दामा गोरखा मिडियाका सञ्चालकहरू रवि लामिछानेबाहेक तीनजनालाई मात्र संगठित अपराधमा मुद्दा चलेको छ । ३२ व्यक्ति र क्षतिपूर्ति प्रयोजनका लागि ६ कम्पनीलाई प्रतिवादी बनाएर मंगलबार जिल्ला सरकारी वकिल कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरेको हो । जिल्ला अदालतमा दायर मुद्दामा साहारा चितवनका बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा गोर्खा मिडिया नेटवर्क प्रालिका तीनजना सञ्चालकहरू अध्यक्ष जीबी राई र सञ्चालकहरू छविलाल जोशी र कुमार रम्तेलविरुद्ध मात्र सरकारी संगठित अपराधको मुद्दा चलाइएको हो ।

प्रहरीले भने अरु तीनजनासहित लामिछानेलाई पनि संगठित अपराधमा मुद्दा चलाउने रायसहितको प्रतिवेदन बुझाएको थियो । प्रहरी अनुसन्धान प्रतिवेदनले साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा १० करोड ८० लाख एक हजार १५१ रुपैयाँ गएको देखाएको छ । उक्त रकम चार सेयर सदस्यलाई दामासायीले हुनेगरी बिगो तोकिएको छ । जिल्ला न्यायाधिवक्ता शान्तिराज लुईंटेलका अनुसार प्रतिवादी बनाइएको ६ कम्पनीमध्ये एकभन्दा बढी कम्पनीमा सञ्चालक रहेकाहरूलाई मात्र संगठित अपराधमा मुद्दा चलाउने मापदण्ड बनाएर अभियोजन गरिएको हो ।

त्यही मापदण्डका आधारमा लामिछानेविरुद्ध संगठित अपराधमा मुद्दा नचलेको उनको भनाइ छ । रविजीको हकमा उहाँ गोर्खा मिडियामा मात्र सञ्चालक रहेको देखिएकाले संगठित अपराधमा मुद्दा नचलाइएको हो । गोरखा मिडियाका अन्य तीनजनाविरुद्ध मापदण्डमा परेकाले संगठिन अपराधमा मुद्दा चलेको हो । उनीहरू तीनजनासहित दुई वा सोभन्दा बढी संस्थामा सञ्चालक रहेका १२ जनाविरुद्ध संगठित अपराधमा मुद्दा दर्ता भएको जानकारी दिए । जीबी राईसहितका १७ जनाविरूद्ध गत असोज ८ गते नै मुद्दा दर्ता भई विचाराधीन छ । सरकारी वकिल कार्यालयले थप अनुसन्धानका गरी पूरक अभियोजन गर्ने प्रतिबद्धता त्यसबेला नै जाहेर गरे अनुरुप पूरक अभियोजन गरेको हो । जिल्ला प्रहरी कार्यालयले लामिछानेसहित थप १५ जना र ६ वटा कम्पनीसहित पूरक अनुसन्धानको प्रतिवेदन बुझाएको थियो । साहारा चितवनको ५२ करोड ३२ लाख ८५ हजार अपचलन भएकोमा अधिकांश रकम गोरखा मिडिया, नेचर हब्र्स इन्टरनेसनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, स्प्रिङ उड रियल स्टेट र नेचर नेस्ट प्रालिमा गएको भेटिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *