नेसपा (नयाँ शक्ति) को महाधिवेशनमा प्रवास सदस्यलाई अनलाइन मतदानको व्यवस्था
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवास सदस्यका निम्ति अनलाइन मतदानको व्यवस्था गरिने भएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीकी नेत्री हिसिला यमीले यस्तो जानकारी दिएकी हुन् । उनले भारतमा रहने प्रवासी सदस्यलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरिएको बताइन् । पार्टीले समावेशिताको मर्मानुसार पदाधिकारी चयन गर्ने उनले जानकारी दिइन् ।
अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिस्पर्धाका आधारमा छनोट गरिनेछ । उपाध्यक्ष समूहगत प्रतिस्पर्धाका आधारमा चयन गरिने उनले स्पष्ट पारिन् । सचिवमा महिलालाई प्राथमिकता दिइने र बाँकीलाई ‘फ्री इलेक्सन’को माध्यमबाट चयन गरिने उनले बताइन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम राष्ट्रिय महाधिवेशन यही माघ २७ गतेदेखि सुरु हुँदै छ ।