हमासले बन्दीको रिहाइ रोक्ने बताएपछि ट्रम्पले दिए कडा चेतावनी
वासिङ्टन डिसी । हमासले गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन्।ट्रम्पले हमासले शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गर्नुपर्ने बताएका हुन्। ट्रम्पले गाजा युद्धविराम सम्झौताको भविष्यको लागि आफ्नो तर्फबाट हमासलाई समयसीमा दिएका छन्। ‘जहाँसम्म मेरो कुरा छ, यदि शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गरिएन भने, म भन्छु, यसलाई (सम्झौता) रद्द गर्नुहोस्,’ उनले ओभल अफिसमा भने, ‘अब सबै बाटोहरू बन्द गरिनुपर्छ, र विनाश सिर्जना गरिनुपर्छ। मलाई लाग्छ यो पर्याप्त समय हो।’ ट्रम्पले शनिबार दिउँसो १२ बजेको बारेमा कुरा गरिरहेका थिए कि मध्यरात १२ बजेको बारेमा भन्ने चाहिँ अझै स्पष्ट छैन। यो समयसीमा दिँदा उनले कुन समय क्षेत्रलाई ध्यानमा राखेका थिए भन्ने पनि स्पष्ट छैन।
ट्रम्पले सबै बन्धकहरूलाई एकैचोटि रिहा गरिने आशा व्यक्त गरेका छन् । यदि यस्तो भएन भने भन्ने उनको भनाइको अर्थ के हो भनेर बीबीसीले राष्ट्रपति ट्रम्पलाई सोध्दा उनले जवाफ दिए, ‘तपाईंले थाहा पाउनुहुनेछ, र तिनीहरूले पनि थाहा पाउनेछन्। हमासले मेरो भनाईको मतलब के हो भनेर बुझ्नेछ।’ उनले ‘यो मेरो समयसीमा हो’ भनेर स्पष्ट पार्दै आफ्नो निर्णयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई उल्लेख गरेनन्। यसअघि हमासले इजरायली बन्धकहरूको रिहाइ रोक्ने बताएको थियो। हमासले इजरायलमाथि युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ। हमासले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘विगत तीन हप्तामा, शत्रुले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको हाम्रो नेतृत्वले देखेको छ। यी उल्लङ्घनहरूमा उत्तरी गाजामा विस्थापित प्यालेस्टिनीहरूको फिर्तीमा ढिलाइ समावेश छ।’ यसबाहेक, गाजा पट्टीका धेरै क्षेत्रमा गोलीबारी गरेको आरोप पनि हमासले लगाएको छ।