विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित
काठमाडौं । विद्युतीय व्यापार (इ–कमर्स( विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्वसम्मतले पारित गरेको हो । प्रतिनिधिसभामा सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावउपर छलफल गरिसकेपछि मन्त्री भण्डारीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । जवाफपछि मन्त्री भण्डारीले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । प्रस्तुत प्रस्तावलाई सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।