लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो- ईश्वरीदेवी न्यौपाने

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपानेले संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा बोल्ने प्रयत्न भइरहेको भन्दै आप्पति जनाएकी छन् ।

आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने र कदापि राजतन्त्र हुन नसक्ने उनले बताएकी हुन् । उनले विधिको शासनमा गल्ती सच्याउने र सजाय गर्ने पनि विधि हुने बताईन् । कुनै पनि बहानामा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहार स्वीकार्य नरहेको उनको चेतावनी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि लडेकाहरु यसको विरुद्धमा भइरहेको गतिविधिबाट सचेत हुनुपर्ने उनले बताईन् ।

‘लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले आएको होईन । नेपाली जनताको शक्तिले हासिल गरको हो, लोकतन्त्रको विकल्प लोकतन्त्रभन्दा अर्को कुनै हुन सक्दैन । व्यक्ति गलत हुनसक्छ, व्यक्तिले गल्ती गर्न सक्छ । विधिको शासनमा गल्ती सच्याउने र सजाय गर्ने पनि विधि नै हुन्छ । त्यो विधिलाई छलफल गरेर अझ पार्दर्शी र कसिलो बनाउन सकिन्छ । गल्ती गर्नेलाई दण्डित गर्न सकिन्छ ।

तर, कुनैपनि बहाना गरेर गणतन्त्रमाथिको प्रहार स्वीकार्य छैन । पछिल्ला दिनहरुमा संसद् जनताको समस्या छलफल गर्ने भन्दापनि एकअर्कालाई आरोप–प्रत्यारोप गर्ने थलोजस्तो देखिँदै छ । संसद् मर्यादित भन्दा पनि अराजक भयो भन्ने गुनासो थुनिन थालेको छ । लोकतान्त्रिक गणतन्त्रका लागि लडेकाहरु सचेत हुन जरुरी छ । व्यवस्थामाथि वितृष्णा फैलाउन चालिएको चाल त होईनन् ति ?’ प्रश्न गर्दै उनले भनिन् ।

नेतृ न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आगामी २०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्न आग्रह गरिन् । उनले टीका लगाएर वा कृपाले पुनः सत्ता र शक्तिमा फर्किने सपना नदेख्न पूर्वराजा र उनका समर्थकहरुलाई चुनौती दिईन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *