नेपाली युवामा राजनीतिक उदासीनता: कारण, प्रभाव, र समाधान

काठमाडौँ । नेपालमा पछिल्ला वर्षहरूमा युवाहरूको राजनीति प्रति चासो घट्दै गएको स्पष्ट देखिन्छ । सामाजिक सञ्जाल, चुनावी सहभागिता र सर्वेक्षणहरूले पनि पुष्टि गर्छन् कि नयाँ पुस्ता सक्रिय राजनीतिमा संलग्नता भन्दा वैकल्पिक माध्यमहरूतर्फ केन्द्रित भइरहेको छ ।

राजनीतिक उदासीनताको मुख्य कारणहरूमा राजनीतिक अस्थिरता र विश्वासको कमी मुख्य हो । नेपालमा बारम्बार सरकार परिवर्तन, नेताहरू दिएको आश्वासन पूरा नहुनु, र राजनीतिक दलहरू भित्रको आन्तरिक कलहले युवाहरूमा निराशा पैदा गरेको छ। नेताहरूको भाषण र व्यवहार बिच ठुला अन्तर देख्दा युवाहरू राजनीतिप्रति वितृष्ण पैदा भएका छन् । रोजगारीको अभावका कारण विदेश पलायन हुनु युवाको बाध्यता बनेको छ । धेरै युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । नेपालमा पर्याप्त रोजगारीका अवसर भए पनि अनुत्तरदायी राजनीतिक व्यवहारका कारण उनीहरू आफ्नो भविष्य सुरक्षित बनाउन आर्थिक रूपमा स्थिर देशहरूतर्फ आकर्षित भएका हुन् । तर, सबै दोष राजनीतिलाई मात्र दिएर हुँदैन । आफू र घरपरिवारको पनि देशप्रतिको दायित्व हुन्छ भन्ने कुरा अनुभूत हुन आवश्यक हुन्छ ।

परम्परागत राजनीतिक शैली र युवाहरूको सहभागिताको अभावले नेपालको राजनीति अझै पनि पुरानो पुस्ताका नेताहरूको नियन्त्रणमा छ । नयाँ पुस्तालाई उचित अवसर नदिने, उनीहरूको आवाज दबाउने प्रवृत्तिले युवाहरू राजनीतिबाट टाढिएका हुन् । नेपालमा भ्रष्टाचारको प्रभाव र पारदर्शिताको अभाव उच्च छ । युवाहरूले नीति निर्माणमा प्रभाव पार्न सक्दैनन् भन्ने भावना बलियो बनेको छ । हाम्रो राजनीतिक प्रणालीमा भ्रष्टाचार व्याप्त भएकाले सक्षम र इमानदार व्यक्तिहरूले अवसर पाउने सम्भावना न्यून देख्छन् र पलायन या विद्रोही बन्छन् युवाहरू । दलीय राजनीतिप्रति अहिले अभिव्यक्तिहरू कठोर देखिएका छन्। पहिलेका पुस्ताले भौतिक रूपमा आन्दोलन, विरोध र सक्रिय सहभागिता जनाउँथे, तर अहिलेका युवाहरू सामाजिक सञ्जालमा असन्तुष्टि पोखेर चित्त बुझाउँछन्। डिजिटल माध्यममा बहस त चलेका छन्, तर ती भौतिक रूपमा परिणत हुन सकेका छैनन्।

अहिलेको डिजिटल आन्दोलन सृजनशील भन्दा पनि बढी विनाशक बन्दै गइरहेछ मुलुकका लागि । व्यक्ति, पार्टी र व्यवस्था विरुद्धका अभिव्यक्ति सुन्न, ग्रहण गर्न र प्रतिक्रियाका लागि सौम्य छैनन् । हो, अहिलेको राजनीतिक परिवेशमा युवा पुस्ताको आक्रोश प्रस्ट देखिन्छ। खास गरी सामाजिक सञ्जालमा स्थापित नेताहरूप्रति नकारात्मक धारणा बढ्दै गएको छ। युवा पुस्ताको असन्तुष्टि केही हदसम्म स्वाभाविक हो, किनभने उनीहरू सुशासन, पारदर्शिता, र अवसरको खोजीमा छन्। तर, यस आक्रोशले लोकतान्त्रिक आन्दोलनका योगदानकारी नेताहरूलाई नै बदनाम गर्नु उचित मान्न सकिँदैन । लोकतान्त्रिक आन्दोलनका लागि सङ्घर्ष गर्ने नेताहरूलाई सम्मान गर्नुपर्छ, तर उनीहरूमाथि आलोचना गर्दा तथ्यपरक हुन आवश्यक छ । अहिले भइरहेको नकारात्मक प्रवृत्तिले गलत सन्देश दिन सक्छ— जसले गर्दा योग्य नेतृत्व समेत हतोत्साहित हुनसक्छ। बरु, लोकतान्त्रिक आन्दोलनलाई अझै मजबुत बनाउनका लागि युवा पुस्ताले सक्रिय भूमिका खेल्नुपर्छ । आलोचनात्मक चेतना जरुरी छ, तर त्यो सकारात्मक परिवर्तनका लागि हुनुपर्छ, अराजकता सिर्जना गर्न होइन ।

लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक अर्को हुन कदापि सक्तैन, यो शाश्वत तर्क हो । युवा राजनीति प्रति उदासीन बन्छन् भने लोकतन्त्र कमजोर हुन्छ त्यो स्थान गैर-जिम्मेवार वा अवसरवादी नेताहरूले ओगट्छन् । मुलुकको हितको निर्णय प्रक्रियामा युवाको संलग्नता नभए नीति निर्माणमा नयाँ सोच र नवीनता आउन कठिन हुन्छ। सामाजिक असमानता बढ्ने सम्भावना बढ्छ। जब राजनीतिक प्रक्रियाबाट बहुसङ्ख्यक युवा अलग रहन्छन्, तिनीहरूलाई असर गर्ने नीतिहरू गलत रूपमा तर्जुमा हुन सक्छन् । यो अवस्थालाई चिर्न युवालाई राजनीतिक रूपमा सक्रिय बनाउन सक्नुपर्छ । नीति निर्माणमा युवा सहभागिता बढाउन दलहरूले आन्तरिक लोकतन्त्र मजबुत बनाउनुपर्छ।

विद्यार्थी सङ्गठन र अन्य युवापुस्ताको प्रतिनिधित्व गर्ने निकायहरूलाई प्रभावकारी बनाइनुपर्छ । विद्यालय र विश्वविद्यालय स्तरमा राजनीतिक सचेतना अभिवृद्धि गर्ने पाठ्यक्रम समावेश गर्नुपर्छ । लोकतन्त्र, संविधान, र समाजवादका विषयमा युवालाई जानकारी दिने कार्यक्रमहरू चलाइनुपर्छ। नयाँ पुस्ताका नेताहरूलाई अगाडि ल्याउनुपर्छ । नेतृत्व लिने अवसर नपाएसम्म उनीहरू राजनीतिप्रति आकर्षित हुँदैनन् । वृद्ध नेताहरूको निरन्तर पुनरावृत्तिलाई रोक्न आन्तरिक प्रतिस्पर्धा र निर्वाचन प्रणाली मजबुत बनाइनुपर्छ। पारदर्शिता र सुशासनको प्रवर्द्धन हुनुपर्छ । भ्रष्टाचार नियन्त्रणका लागि स्वतन्त्र निकायहरूलाई प्रभावकारी बनाइनुपर्छ। राजनीतिक निर्णय प्रक्रियामा जनताको प्रत्यक्ष संलग्नता बढाउन प्रविधिको प्रयोग (e-governance) गर्न सकिन्छ ।

नेपालमा युवाहरूले राजनीतिबाट विमुख हुनु भनेको लोकतन्त्रकै लागि खतरा हो । राजनीतिलाई परिवर्तनको माध्यमका रूपमा हेर्नुपर्छ, बहिष्कारको विषय होइन। त्यसैले, युवा पुस्ताले चासो राख्नुपर्छ, भाग लिनुपर्छ, र सुधारको नेतृत्व गर्नुपर्छ। जब युवा शक्ति सङ्गठित हुन्छ, तब मात्र सुशासन, समानता, र समृद्धि सम्भव छ। भुल्नु नहुने कुरो हाम्रो लोकतान्त्रिक आन्दोलनमा अग्रजहरूको योगदान अतुलनीय छ। नेपालमा प्रजातन्त्र स्थापनादेखि हालसम्मका परिवर्तनहरूमा उनीहरूको सङ्घर्ष, त्याग, र नेतृत्वले महत्त्वपूर्ण भूमिका खेलेको छ । २००७ सालको क्रान्तिमा नेपाली काँग्रेसका नेताहरू—विशेष गरी बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर लगायतका अग्रजहरूले ठुलो योगदान दिए। उनीहरूको नेतृत्वमा राणा शासनको अन्त्य भयो र नेपालमा प्रजातन्त्रको सुरुवात भयो।

२०३६ सालको जनमत सङ्ग्रह र २०४६ सालको जनआन्दोलनमा गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूको सङ्घर्ष महत्त्वपूर्ण रह्यो। उनीहरूको नेतृत्वमा नेपालमा बहुदलीय व्यवस्था पुनः स्थापित भयो । २०६२र६३ को जनआन्दोलनमा गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूले निर्णायक भूमिका खेले। यस आन्दोलनले राजतन्त्रको अन्त्य गर्‍यो र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको बाटो खुल्यो । लोकतान्त्रिक समाजवादको मार्गमा नेपाललाई अघि बढाउने अभियानमा विशेष गरी बिपी कोइरालाको विचारधारा मार्गदर्शक बन्यो । उनी लोकतन्त्र, समाजवाद र राष्ट्रियता (Democracy, Socialism, Nationalism) को त्रि सूत्रीय सिद्धान्तको प्रवर्तक थियो । हाम्रा अग्रजहरूको बलिदान र योगदानकै कारण हामी आज लोकतान्त्रिक व्यवस्थामा छौँ भन्ने भुल्नु हुन्न । नयाँ पुस्ताले उनीहरूको सपना पूरा गर्दै लोकतान्त्रिक समाजवादलाई संस्थागत गर्न अझ सक्रिय हुनुपर्छ ।
अन्त्यमा,
“हामीले राजनीति बहिष्कार गर्‍यौँ भने हामीमाथि अयोग्यहरूले शासन गर्छन्।” – प्लेटो

(लेखक: नेपाली काँग्रेस झापाका सूचना, सञ्चार तथा प्रचार संयोजक हुन्)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *