शिक्षकहरुलाई वार्तामा आउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बस्न र शिक्षा प्रणालीलाई सामान्य अवस्थामा फर्काउन आह्वान गरेका छन् ।

सम्भव मागहरू पूरा गर्ने सरकारको तयारी रहेको भन्दै प्रधानमन्त्री ओलीले आन्दोलन अन्त्य गर्न आग्रह गरेका हुन् । आइतबार काठमाडौंमा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आउनुस्, सहमति गरेर फर्किनुस् । सरकार शिक्षकका जायज मागप्रति सकारात्मक छ। सम्भव मागहरू पूरा गर्छ।’

सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् । शिक्षक महासङ्घको अगुवाइमा भइरहेको आन्दोलनले चैत २५ देखि आम शैक्षिक हड्ताल सुरु गरेपछि भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका शैक्षिक गतिविधिहरू प्रभावित भएका छन् ।

प्रधानमन्त्री ओलीले आन्दोलनबाट विद्यार्थी र अभिभावकलाई मात्र क्षति हुने भन्दै शिक्षकहरूलाई यथाशीघ्र काममा फर्किन आग्रह गरे । उनले भने, ‘उहाँहरूलाई कुनै लाभ छैन, विद्यार्थीलाई घाटा छ, अभिभावकलाई पीडा छ। त्यसैले वार्तामा आउनुस्, कुरा गरौँ, सम्भव कुरा सरकारले समाधान गर्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *