सांसदमा देशका विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ। प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरूले देशका विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद भगवती चौधरी: चौधरीले सुनसरीको गढी गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना रहेकाले पर्याप्त बजेट विनियोजन गर्न माग गरिन्। सांसद भानुभक्त जोशीले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सबै संरचना तयार भइसकेकाले यस सम्बन्धी विधेयकलाई छिटो पारित गर्न आग्रह गरे।
सांसद भीमप्रसाद आचार्य: आचार्यले तिलौराकोटको उत्खनन र पुनर्निर्माणको कार्य लामो समयदेखि थाती रहेकाले सरकारी पहल बढाउनुपर्नेमा जोड दिए।
सांसद मनिष झा: झाले जनकपुरधाममा परिकल्पना गरिएको अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण कार्य ढिलाइ भएको भन्दै यथाशीघ्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद महेशकुमार बर्तौला: बर्तौलाले नेपालमा पनि स्मार्ट सार्वजनिक यातायातको रूपमा ‘पोडवे’ सञ्चालन गर्न सकिने सम्भावना औंल्याए। उनले हेटौँडा–काठमाडौँको बन्द भएको ‘रोपवे’कै संरचनालाई आधार मानी त्यसलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।
सांसद महेश बस्नेत: बस्नेतले पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा सञ्चालित लिफ्ट खानेपानी प्रणालीको विद्युत् महसुल महँगो भएकाले त्यसलाई कम गर्नुपर्ने बताए।
सांसद माधव सापकोटा: सापकोटाले धान रोप्ने समयमा किसानले पर्याप्त मल नपाएको भन्दै मलको व्यवस्था गर्न अनुरोध गरे। उनले दुग्ध विकास संस्थान (डिडिसी) ले किसानलाई ६ महिनादेखि दूधको पैसा नदिएकाले तत्काल भुक्तानी दिनुपर्ने माग गरे।
सांसद मीना तामाङ र मुक्ताकुमारी यादवले भारत र पाकिस्तानबीच बढ्दो तनावले नेपालमा पनि असर पर्न सक्ने भन्दै आफ्ना नागरिकको सुरक्षाका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने धारणा राखे।
सांसद मेनकाकुमारी पोखरेल: लागुऔषध कारोबारमा युवाहरूको संलग्नता बढ्दै गएकाले त्यसतर्फ समयमै ध्यान दिन आग्रह गरिन्। सांसद रञ्जुकुमारी झाले आगामी बजेटमा बालबालिकाको पोषण भत्ता बढाउनुपर्ने माग गरिन्।
शून्य समयमा सांसद रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराली, योगेन्द्र मण्डल, राजेन्द्रकुमार राई, मनबहादुर गुरुङ र रमा कोइराला पौड्यालले पनि विभिन्न समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराएका थिए।