प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने अध्यक्ष लिङ्देनको चेतावनी
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक हुने बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङ्देनले सम्बोधन गर्दै प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने बताएका छन । उनले भने- अँस्ती प्रधानमन्त्रीले संसदमा भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन, भाग त भन्नुभएन नि हो ।, ‘भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरुलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो ।’
उनले भने, ‘लाने हो, यसपालि टुंग्याएरै छोड्ने हो । त्यही हिसाबले हाम्रो मिहिनेत बढाऔं ।’ उनले आन्दोलनमा आफूमात्र नभई सिंगो परिवार नै लिएर आउन आह्वान समेत गरे । सकेसम्म छरछिमेक र आफन्तलाई पनि लिएर आन्दोलनमा आउन र नसके घरमा ताला लगाएर सपरिवार आउन उनले अनुरोध गरे । उनले पटक–पटक आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने बताए ।
यसपालिको प्रदर्शन शान्तिपूर्ण हुने र निरन्तर चलिरहने लिङ्देनको भनाई छ । ‘जेठ १५ गते त सुरु हुने हो । शान्तिपूर्ण हुन्छ, आयोजकको पूर्ण नियन्त्रणमा हुन्छ । हाम्रोतर्फबाट कुनै पनि हिंसात्मक कृयाकलाप हुँदैन,’ उनले भने, ‘अरुलाई पनि हामीले हिंसा गर्न दिँदैनौं । सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने र शान्तिपूर्ण प्रदर्शनलाई हिंसामा भड्काउन दिँदैनौं’ उनले भने ।