यूनिलिभर नेपालको सर्वाधिक लाभांश पारित
काठमाडौं । युनिलिभर नेपालको मंसिर २६ गते सम्पन्न कम्पनीको ३०औं वार्षिक साधारणसभाले कम्पनीको इतिहासकै प्रस्तावित १५८० सर्वाधिक लाभांश पारित गरेको छ । उक्त सभा कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा होटल याक एण्ड यतीमा सम्पन्न भएको छ । कम्पनीले कर पछिको नाफा एक अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ । जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । कम्पनीले नेपालमा आफ्नो ३० औं वार्षिकोत्सव ‘हरेक घरमा, हरेक मनमा’ भन्ने नाराका साथ मनाइरहेको छ ।
जसले नेपालका हरेक नेपालीको घरमा उनीहरुको ब्राण्ड र उत्पादनको फराकिलो दायरा हुनुलाई प्रतिबिम्बित गर्दछ । कम्पनीका अध्यक्ष देव बाजपेइले आगामी वर्षका लागि भौगोलिक, खरीद, मानव पूँजी, प्रविधि, समावेशीता र स्थायित्वमा देखा परेका व्यवधानहरु हटाउँदै अगाडी बढ्ने प्रशस्त अवसरहरु रहेका बताएका छन् । सोही समारोहमा कम्पनीका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको १५४.२ करोडबाट बढेर यो वर्ष १८३.४ करोड पुगेको बताएका छन् । जुन गत १० वर्षयताकै सबैभन्दा धेरै हो । प्रबन्ध निर्देशक मुखर्जीले कम्पनीको ब्यालेन्स सिट न्यून लगानीको कारण मजबुत र बलियो संचालन पूँजीको प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि यसलाई कुनै असर नपरेको दावी गरे । युनिलिभर नेपालको ८५ प्रतिशत सेयर संस्थापक सेयरधनीहरुको रहेको छ भने बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणहरुको रहेको छ ।
















