“अख्तियारले चलाएको मुद्दा अदालतको विषय भएकाले टिप्पणी गर्नु उपयुक्त हुँदैन”
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अहिले अदालतको विषय भएकाले यसमा कुनै टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त मुद्दा सम्मानपूर्वक निरुपण गरिनु पर्नेमा जोड दिए । महामन्त्री थापाले कांग्रेसको आगामी महाधिवेशन अघि नै क्रियाशील सदस्यता टुंगो लाग्नुपर्ने र सबै नेताहरूले आ-आफ्नो निर्वाचन क्षेत्रका सदस्यता नवीकरण तथा छिनोफानो प्रक्रिया समयमै पूरा गर्नुपर्ने बताए।
सरकारको सफलताका लागि कांग्रेसले सबै प्रयास गरिरहेको उल्लेख गर्दै उनले सरकार जनअपेक्षा अनुसार काम गर्नुपर्ने र अहिले भइरहेका कामहरूको समीक्षा आवश्यक रहेको धारणा राखे।
















