मलाई थाहा नै नदिई सांसदहरूको सुविधा कटौती गरियो : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सङ्घीय सांसदको सुविधा कटौतीको बारेमा आफूलाई थाहा नै नभएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस्तो अनभिज्ञता जनाएका हुन् । उनले आफूले कानुनमा उल्लेख नभएका सुविधा मात्रै कटौती गरिएको बताएका थिए । तर, सांसदको स्वकीय सचिव सुविधा कानुन बमोजिम नै भएको बताएपछि यो विषयमा आफूलाई जानकारी नै नभएको बताएका हुन् ।
यो प्रस्ताव मैले ल्याएको होइन, कानुन मन्त्रालयको हो, अर्थमन्त्रीले भने, मलाई अनुसूची संशोधन गरेको थाहा थियो, तर त्यसमा के संशोधन गरियो भन्ने थाहा थिएन । उनले सुविधा कटौतीको विषयमा कानुनमन्त्रीसँग छलफल गर्ने आश्वासन समेत दिए । सरकारले सङ्घीय सांसदका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन संशोधन गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खोसेको थियो।

















