बागमती प्रदेश सरकारद्वारा ६ महिनामा १७ अर्ब ४३ करोड राजस्व सङ्कलन

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ६ महिनामा १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो रकम वार्षिक लक्ष्यको २५ दशमलव ८४ प्रतिशत हो । प्रदेश सरकारका अनुसार घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेशका प्रमुख राजस्व स्रोतका रूपमा रहेका छन् । यी दुई शीर्षकसहित बाँडफाँडतर्फ चालु आवमा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएको थियो । साउनदेखि पुससम्मको अवधिमा लक्ष्यको ३१ दशमलव ४८ प्रतिशत अर्थात् ९ अर्ब ७२ करोड ५० लाख २८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत केशव भण्डारीले जानकारी दिए । उनका अनुसार घरजग्गा रजिष्ट्रेसन शीर्षकबाट चालु आवमा ७ अर्ब ७० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएकामा छ महिनामा २ अर्ब १ करोड ६६ लाख ९० हजार रुपैयाँ मात्र उठेको छ । यस्तै सवारीसाधन जाँचपास, रुट पर्मिट, चालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट ८ अर्ब २५ करोड रुपैयाँ लक्ष्य राखिएकामा पुससम्म २ अर्ब ६३ करोड ८३ लाख ७५ हजार रुपैयाँ सङ्कलन भएको छ । मूल्य अभिवृद्धि कर बाँडफाँडतर्फ ८ अर्ब ७९ करोड ८६ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा ३ अर्ब ६९ करोड ५४ लाख ९० हजार रुपैयाँ सङ्कलन भएको छ भने अन्तःशुल्क करबापत ४ अर्ब ३ करोड ७९ लाख ९ हजार अनुमान गरिएकामा १ अर्ब २८ करोड १० लाख ८२ हजार रुपैयाँ प्राप्त भएको छ । सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ १४ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ अनुमान गरिएकामा छ महिनामा ५ अर्ब ७४ करोड ७५ लाख ३० हजार रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ । आर्थिक तरलता अभाव, घरजग्गा तथा सवारीसाधन कारोबारमा आएको गिरावट र गत भदौमा भएको आन्दोलनका कारण राजस्व सङ्कलन अपेक्षाअनुसार हुन नसकेको प्रदेश सरकारको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *