बैंकर ज्ञवालीको नजरमा डिजिटल र अनलाइन ठगीबाट बच्ने अचुक उपाय
डिजिटल बैंकिङ र अनलाइन कारोबार बढेसँगै नेपालमा डिजिटल ठगीका घटनाहरू पनि तीव्र रूपमा बढिरहेका छन्। बैंकर मनोज ज्ञवालीका अनुसार, “बैंक खाताबाट रकम ट्रान्सफर भइसकेपछि ‘हेरिदिनु पर्यो’ भन्दै दैनिक दर्जनौँ फोन र सन्देश आउने गरेका छन्। तर ठगीमा प्रयोग हुने खाताहरू प्रायः म्युल अकाउन्ट हुने भएकाले ठगसम्म पुग्न अत्यन्तै कठिन हुन्छ।” घरमै बसेर सजिलै पैसा कमाउने विज्ञापन, टिकटक वा सामाजिक सञ्जालमा देखिने अस्वाभाविक रूपमा सस्ता सामान, नकिनेको चिठ्ठा परेको भन्दै आएको सन्देश, वा ह्याक भएको साथीको ह्वाट्सएपरम्यासेन्जरबाट आएको अनुरोधकै कारण धेरै नागरिक ठगीमा परिरहेका छन्। कतिपयले आफ्नो पासवर्ड, पिन–कोड वा ओटीपी आफैँ सेयर गर्दा बचत गुमाउन बाध्य भएका छन्। मनोज ज्ञवालीका अनुसार डिजिटल फ्रडका प्रमुख प्रकारमा फिसिङ, स्मिसिङ, भिसिङ, एटीएम तथा कार्ड फ्रड, अनलाइन शपिङ फ्रड, सामाजिक सञ्जाल फ्रड, डिजिटल वालेट ह्याक, लगानी ठगी, पहिचान चोरी तथा मालवेयर आक्रमण पर्छन्। यी सबैको साझा उद्देश्य प्रयोगकर्ताको गोप्य विवरण चोरेर आर्थिक नोक्सानी गराउनु हो। यसबाट बच्न सबैभन्दा पहिला गोप्य जानकारी सुरक्षित राख्न आवश्यक छ। बैंक वा वालेटले कहिल्यै फोन वा एसएमएसमार्फत ओटीपी माग्दैनन् भन्ने कुरा सधैँ सम्झनुपर्छ। शंकास्पद लिंक नखोल्ने, दुई तहको सुरक्षा (Two-Factor Authentication) प्रयोग गर्ने, आधिकारिक एप र वेबसाइट मात्र प्रयोग गर्ने, बलियो पासवर्ड राख्ने र नियमित रूपमा मोबाइल तथा एप अपडेट गर्ने उपाय अत्यन्त प्रभावकारी छन्। साथै, अनलाइन किनमेल गर्दा Cash on Delivery प्राथमिकता दिनु, सामाजिक सञ्जालमा व्यक्तिगत जानकारी सीमित राख्नु, बैंकको एसएमएस वा इमेल अलर्ट सेवा अनिवार्य राख्नु जरुरी छ। कुनै शंकास्पद कारोबार देखिएमा ढिला नगरी सम्बन्धित बैंक, डिजिटल वालेट, नेपाल प्रहरीको साइबर ब्युरो वा नेपाल राष्ट्र बैंकमा उजुरी गर्नुपर्छ। डिजिटल प्रविधिले सुविधा दिएको छ, तर सजगता नअपनाए जोखिम पनि उत्तिकै छ। सचेत व्यवहार नै डिजिटल ठगीबाट बच्ने सबैभन्दा बलियो हतियार हो।
















