तराई,मधेश फास्ट ट्र्याकको काम र प्रगति
तराई,मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ प्रतिशत रहेको छ । आयोजनाअन्तर्गतका महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ । नेपाली सेनाका प्राविधिक प्रमुख सेनानी मिलन कार्कीका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा थप दुई जोडी सुरुङ ब्रेक–थ्रु हुनेगरी काम अघि बढाइएको छ । ती सबै सुरुङको कुल लम्बाइ १०.९७९ किमी छ । ललितपुरको खोकनादेखि सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा जोडिने कुल ७०.९७७ किमी लम्बाइको उक्त द्रुतमार्ग पहाडी क्षेत्रमा २५ र तराईमा २७ मिटर चौडाइको हुनेछ । आयोजनाअन्तर्गत ललितपुरमा ९, काठमाडौंमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण हुनेछ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले द्रुतमार्गअन्तर्गत साना तथा ठूला गरी ८९ वटा पुल निर्माण हुने जानकारी दिए । उनका अनुसार हालसम्म ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिसहित १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेको छ । आयोजनाअन्तर्गत ८५ स्थानका पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको जनाइएको छ । बाँकी चार स्थानका पुलका लागि जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको आयोजना कार्यदलले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न हुने जनाइएको छ । आयोजनाअन्तर्गत ११ किमी सडकको सबवेस तथा सर्भिस लेनमा पाँच किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । राजधानीलाई छोटो दूरीमा तराईसँग जोड्ने ‘एसियन हाइवे स्टयान्डर्ड’को रणनीतिक महत्त्वको यो देशकै पहिलो द्रुतमार्ग हो । फास्ट ट्र्याक निर्माणको प्रारम्भिक अनुमानित लागत दुई खर्ब १३ अर्ब रहेको छ । आयोजना २०८३ चैत मसान्तभित्र पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको सेनाले जनाएको छ । आयोजना पूरा भएपछि करिब एक घण्टामा काठमाडौंबाट तराई पुग्न सकिनेछ ।
















