कोटेश्वर भाटभटेनी सुपरमार्केट शनिबारबाट पुनः सञ्चालनमा
काठमाडौं । भदौ २४ गते आगजनी गरिएको कोटेश्वरस्थित भाटभटेनी शनिबारबाट खुल्ने भएको छ । शनिबार बिहानदेखि नै सेवाग्राहीलाई सेवा दिन तयार रहेको भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए । भदौ २३ मा भएको जेनजी आन्दोलनको भोलिपल्ट भएको विध्वंसमा भाटभटेनीको कोटेश्वरसहितका ११ वटा स्टोर आगजनी गरिएको थियो । आगजनीले ध्वस्त भएको भवन भाटभटेनीले पुनर्निर्माण गरी पाँच महिनामै सञ्चालनमा ल्याएको हो । एक विज्ञप्तिमार्फत् भाटभटेनीले भनेको छ– आगजनीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरुमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याउको घोषणा गर्न पाउँदा खुसी लागेको छ ।

शनिबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा ल्याउनेगरी सम्पूर्ण तयारी गरिएको भाटभटेनीले जनाएको छ । यो पुनःसञ्चालनले भाटभटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्टरुपमा प्रतिबिम्बित गर्दछ, विज्ञप्तिमा उल्लेख छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले भदौ २३ र २४ को घटनाबाट प्रभावित भए तापनि भाटभटेनी सुपरमार्केटले आफ्ना कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुको सहयोग र विश्वासका कारण छिटो पुनःउत्थानको मार्गमा अघि बढ्न सफल भएको बताउँदै भने, कोटेश्वर स्टोरको पुनः सञ्चालनसँगै बाँकी स्टोरहरु पनि चरणबद्ध रुपमा सञ्चालनमा ल्याइनेछ । भाटभटेनीले जारी गरेको विज्ञप्तिमा कठिन घडीमा साथ, सहयोग र धैर्यताका लागि सबै ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको छ । भदौ २४ गते काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको थियो ।
















