पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसके, उनलाई रोक्नु नै विश्वको विजय हो : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बीबीसीसँगको अन्तर्वार्तामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसकेको दाबी गर्दै उनलाई रोक्न कडा सैन्य र आर्थिक दबाब आवश्यक रहेको बताएका छन् । किभस्थित सरकारी मुख्यालयमा दिएको अन्तर्वार्तामा जेलेन्स्कीले युद्ध अन्त्य गर्ने नाममा भू–भाग त्याग्न नसकिने बताए । उनले रुसले कब्जा गरेको पूर्वी डोनेत्स्क क्षेत्रको २० प्रतिशत भू–भाग तथा दक्षिणका खेरसन र जापोरिझ्झिया क्षेत्र छाड्ने माग स्वीकार्य नहुने बताए । उनका अनुसार यस्तो कदमले युक्रेनको सामाजिक एकता कमजोर पार्नेछ र लाखौं नागरिकलाई त्याग्ने अवस्था सिर्जना हुनेछ । जेलेन्स्कीले पुटिन अस्थायी युद्धविराममा सहमत भए पनि केही वर्षभित्रै फेरि आक्रमण दोहोर्‍याउन सक्ने चेतावनी दिए । ‘पुटिन युक्रेनमै रोकिने छैनन्’, उनले भने, ‘उनीहरूलाई आज रोक्नु नै विश्वको विजय हो ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई वार्तामा छिटो आउन दबाब दिँदै आएको सन्दर्भमा जेलेन्स्कीले युक्रेनले आत्मसमर्पण नगर्ने बताएका छन् । उनले दीर्घकालीन अमेरिकी सुरक्षा ग्यारेन्टी आवश्यक रहेको र त्यसका लागि अमेरिकी कंग्रेसको स्वीकृति अनिवार्य हुने बताए । जेलेन्स्कीले सम्भावित निर्वाचनबारे पनि प्रतिक्रिया दिँदै युद्ध अन्त्यको सर्त बनेमा चुनाव गराउन तयार रहेको संकेत गरे, तर त्यसअघि सुरक्षा सुनिश्चित हुनुपर्ने उनको धारणा छ । युक्रेनमा जारी युद्धबीच जेलेन्स्कीले देशको स्वतन्त्रता जोगाउनु नै अन्तिम विजय हुने दोहोर्‍याएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *