प्रतिनिधिसभामा १७९ पुरुष, ९६ महिला बने सांसद
काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभामा १७९ पुरुष र ९६ महिला निर्वाचित भएका छन् । फागुन २१ मा भएको निर्वाचनबाट उक्त संख्यामा निर्वाचित भएका हुन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, समावेशीमा आदिवासी जनजाति समूहतर्फ २१.०९, खसआर्य समूहतर्फ ४९.०९ निर्वाचित भएका छन् । थारु समूहतर्फ ३.२७, दलित समूहतर्फ ६.१८, मधेसी समूहतर्फ १६.७३ र मुस्लिम समूहतर्फ ३.६४ प्रतिशत सदस्य निर्वाचित भएको उनले बताए । अन्तिम नामावलीअनुसार कुल एक करोड ८९ लाख तीन हजार ६८९ तदाता कायम रहेका थिए ।
जसमा महिला मतदाताको संख्या ९२ लाख ४० हजार १३१ र पुरुष मतदाताको संख्या ९६ लाख ६३ हजार ३५८ रहेको छ । अन्य मतदाताको संख्या २०० रहेको छ । यसपटकको निर्वाचनको अर्को सुखद पक्ष भनेको बदर मतको संख्यामा कमी आएको उनले बताए । आयोगका अनुसार, औसत बदर मत ४.७ प्रतिशतमा सीमित रहेको छ । प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत मत बदर भएको तथ्यांक छ । मतदाता शिक्षा कार्यक्रम र सरल मतपत्र डिजाइनका कारण बदर मतको संख्या नियन्त्रणमा आएको आयोगको विश्लेषण छ । निर्वाचनलाई निष्पक्ष बनाउन २२ वटा कूटनीतिक निकायका १६४ जना र राष्ट्रियस्तरका ३५ वटा गैरसरकारी संस्थाहरूले पर्यवेक्षण गरेका थिए ।
















