शुक्रबारसम्म प्रक्रियामा नआए आइतबारदेखि विदेशी खेलाडीबारे विभागले अनुगमन सुरु गर्ने
काठमाडौं । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले राष्ट्रिय लिगमा आवद्ध क्लबहरू शुक्रबारसम्म प्रक्रियामा नआए आइतबारदेखि अनुगमन सुरु गर्ने भएको छ । यसअघि अध्यागमनले एन्फालाई पत्राचार गरी आजैबाट अनुगमन थाल्ने बताएको थियो । राष्ट्रिय लिगमा श्रम स्वीकृति नलिएका खेलाडीलाई सहभागी गराएको सम्बन्धमा विभागले अनुगमन गर्न लागेको हो । बिहीबार पर्यटक भिसामा नेपाल आएका खेलाडीहरूलाई राष्ट्रिय लिग खेलाएको भन्ने उजुरी परेपछि अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ती खेलाडीहरूलाई लिगमा सहभागी नगराउन पत्राचार गरेको थियो । त्यसपछि एन्फाको एक टोलीले विभाग गएर शुक्रबारसम्म प्रकृयामा ल्याउने प्रतिबद्धता जनाएका थिए । एन्फाको टोली आएको थियो । श्रम स्वीकृति नलिएका विदेशी खेलाडीलाई शुक्रबारसम्म श्रम स्वीकृती लिने प्रकृया सुरु गर्ने प्रतिबद्धता गरी गएका छन्, अध्यागमन विभाग स्रोतले भन्यो, शुक्रबारसम्म विदेशी खेलाडीलाई श्रम स्वीकृति लिने प्रकृया अघि नबढाए हामी क्लबहरूको अनुगमन सुरु गर्छौं । शुक्रबार प्रकृया सुरु नगरे आइतबारबाट विभागले क्लबहरूको अनुगमन सुरु गर्नेछ ।
श्रम स्वीकृति नलिइ खेलाडीलाई खेलमा सहभागी गराएको पाइएमा क्लब र खेलाडीलाई कारबाही गर्ने चेतावनी विभागले दिएको छ । विभागका अनुसार, राष्ट्रिय लिगमा १७ वटा टिमबाट कुल ३८ खेलाडी खेलिरहेका छन् । विभाग श्रोतका अनुसार, यी मध्ये आठ क्लबले पर्यटक भिसामा आएका खेलाडीलाई लिगमा सहभागी गराएको उजुरी परेको थियो । सहभागी १७ क्लबमा चित्लाङ एफसीका विदेशी खेलाडीहरूले श्रम स्वीकृति लिएका छन् । तीन विभागीय टोलीहरू एपीएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबाहेक फ्रेन्ड्स क्लब, नवजागृती र काँक्रेबिहार क्लबले भने विदेशी खेलाडी राखेका छैनन् । उजुरीको आधारमा पत्राचार गरेपछि कार्यालय पुगेको एन्फाले भने लिग नै स्थगित गरेको छ । एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले विज्ञप्ति जारी गर्दै आगामी सूचना सार्वजनिक नभएसम्मका लागि लिग स्थगित गरिएको जनाएका थिए ।
















