प्रहरीले टुंग्यायो अनुसन्धान, घटनामा एकजना मुख्य आरोपी र तीनजना सहयोगी
सुर्खेतकी इनिशा विक बलात्कार तथा हत्याबारे प्रहरीले थालेको अनुसन्धान सकाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले इनिशाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सुर्खेत प्रहरी प्रमुख एसपी सुधीर शाहीले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा गत २३ फागुनमा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पुर्याएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो । घटनापछि प्रहरीले एक १६ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । पक्राउ परेका किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव भई बेहोस भएको बयान दिएका छन् । पोस्टमार्टम रिपोर्टमा पनि यौनांगको भित्री भागमा लागेको गहिरो चोटका कारण अत्यधिक रक्तश्राव भएको देखाइएको छ ।
यसै घटनामा संलग्न रहेको आशंकामा अन्य तीनजनालाई समेत पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये मुख्य आरोपी एकजना रहेको र तीनजना भने सहयोगीका रूपमा रहेकाले कारबाहीका लागि जिल्ला सरकारी वकिल सुर्खेतलाई राय दिएको छ । इनिशा हत्या घटनाबारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत खटिएको थियो । प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन उच्च प्रविधिको प्रयोग गरेको जनाएको छ । १९ दिनदेखि इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ । परिवारले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन् ।
















