मुलुकको समग्र विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो भूमिका छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समग्र विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो भूमिका रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको आठौँ प्रदेश सभाको विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष ढकालले विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रको ठूलो भूमिका रहेको बताएका हुन् । मुलुकको कुल रोजगारीको ठूलो हिस्सा निजी क्षेत्रले ओगटेको बताउँदै उनले पछिल्लो समय निजी क्षेत्रप्रति सरकारको दृष्टिकोणमा पनि सकारात्मक भइरहेको बताए । अध्यक्ष ढकालले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी आर्थिक समृद्धि ल्याउन सकिने दाबी गरे ।
नेपालमा लगानीको वातावरण रहेको सन्देश दिनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्रै दिगो विकासको लक्ष्य प्राप्त हुने बताए । महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रलाई हेर्ने सरकारी र सामाजिक दृष्टिकोणले लगानीकर्ताहरू हतोत्साही हुने गरेको बताए । निजी क्षेत्र निरुत्साहित भएमा लगानी घट्ने बताउँदै उनले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने राज्यको दृष्टीकोण सकारात्मक हुनुपर्ने बताए । प्रदेश सभासँगै कोशी महासंघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत र नवीन रिजालबीच तीव्र प्रतिस्पर्धा हुँदैछ । निर्वाचन कार्यतालिका आजै मतदान हुनेछ ।
















