राजनीतिमा प्रतिशोध, निषेध हुनु हुँदैन : ज्ञानेन्द्र शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा प्रतिशोध, निषेध हुन नहुने बताएका छन् । फुट, द्वन्द्व र विद्रोहले कमजोर भइने उनले उल्लेख गरेका छन् । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा सोमबार एक भिडियो सन्देश जारी गर्दै उनले जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर अघि बढ्न विलम्ब गर्न नहुनेमा जोड दिएका छन् । “निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौँ । परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनु हुँदैन,” उनले भनेका छन्, “जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउनु विलम्ब नगरौँ ।” संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको माग सम्बोधन हुने गरी समस्याको संवैधानिक समाधान खोज्नुपर्ने उनले बताएका छन् । सबै नेपालीले न्याय, शान्ति र सुख पाऊन् भनी उनले शुभकामना व्यक्त गरेका छन् । विगतका कमी–कमजोरी र त्रुटिलाई सच्याउँदै र बाधा–व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्च गन्तव्यतर्फ लम्किनुपर्दछ,” उनले भनेका छन् । विगतमा शासनप्रणालीमा निकै हेरफेर गरिए पनि त्यो ‘कोरा परिवर्तन’ मात्र भएको उनले टिप्पणी गरेका छन् ।
“दलदलको खलबलमा त हामी धेरै दगुर्यौँ, तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछाडि पर्यौँ, उनले भनेका छन्, “सधैँ प्रयोग, सधैँ अभ्यास र सधैँ विकल्पको खोजीमा मात्र हामी लाग्यौँ । फलस्वरूप, हाम्रो देश प्रयोगशाला मात्रै रह्यो । व्यक्ति बदलेर मात्र समग्र स्थिति बन्ने रहनेछ भन्ने पाठ विगतले सिकाएको उनले उल्लेख गरेका छन् । राजनीतिमा युवाको सहभागिता बढ्दै जानु उत्साहको विषय भएको उनले बताएका छन् । राजनीति र राज्यसञ्चालनको गतिविधिमा युवापिँढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लाग्दछ, पूर्वराजा शाहले भनेका छन् । हाल देश चौतर्फी समस्याको चाङमा रहेको नेपाली जनताको आशा, अभिलाषा पनि उत्तिकै भएको उनले औँल्याएका छन् । उनले नागरिकको जिउधनको सुरक्षा हुनुपर्नेमा जोड दिएका छन् । देशलाई पराधीन हुनबाट जोगाउनुपर्ने उनले बताएका छन् ।
















