सानिमा बैंकको नाफा ४२ प्रतिशतले बढ्यो
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमास (चैतमसान्त) सम्म २ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण उत्साहजनक प्रगति देखिएको हो । बैंकले गत आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमासको तुलनामा आफ्नो खुद नाफा र व्यवसाय विस्तारमा उल्लेख्य सुधार गरेको देखिन्छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार चैत मसान्तसम्ममा बैंकको खुद नाफा ४२.२ प्रतिशतले बढेर २ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि ठूलो सुधार देखिएको छ । गत आबको तेस्रो त्रैमासमा १६.३३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २२.९२ रुपैयाँ पुगेको छ ।
यस अवधिमा सानिमा बैंकले आफ्नो कर्जा उल्लेख्य बढाएको छ । बैंकको खुद कर्जा तथा सापट ८.२५ प्रतिशतले वृद्धि भई १ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैंकको पुँजीगत आधार बलियो देखिएको छ। चैत मसान्तसम्म बैंकको प्राथमिक पुँजीकोष अनुपात १०.०३ प्रतिशत र कुल पुँजी पर्याप्तता अनुपात १३.१६ प्रतिशत रहेको छ । यसै अवधिमा बैंकले आफ्नो पुँजीगत आधार थप मजबुत बनाउन २ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत लाभांश दर भएको अग्राधिकार सेयर समेत जारी गरेको छ । बैंकले सेयरधनीलाई दिने प्रतिफलमा पनि सुधार गरेको छ । गत आवको तेस्रो त्रैमासमा १०.३५ प्रतिशत रहेको इक्विटीमा प्रतिफल बढेर १३.१३ प्रतिशत पुगेको छ। त्यस्तै, बैंकको वार्षिकीकरण गरिएको वितरणयोग्य नाफा १८.५७ प्रतिशत रहेको छ ।
















