एसियन थाई फुड्को व्यापार बढ्दो, ६ महिनामा सवा ३ अर्ब कारोबार

काठमाडौं । रमपम, प्रिती र टुपीएमसहित विभिन्न ब्रान्डका खाद्य वस्तु बिक्री गर्ने एसियन थाई फुड्सले चालु आर्थिक वर्षको ६ महिनामा करिब सवा ३ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले उक्त अवधिमा ३ अर्ब १८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो । गत आर्थिक वर्षमा कम्पनीको कुल कारोबार ५ अर्ब ५३ करोड ८० लाख रुपैयाँ रहेको थियो । त्यस्तै, सन् २०२४ मा ४ अर्ब ८६ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा ४ अर्ब ७३ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा ४ अर्ब २ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो। गत आर्थिक वर्षमा कम्पनीको व्यापार १४ प्रतिशतले वृद्धि भएको थियो। चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ८.१ प्रतिशत सञ्चालन नाफा आर्जन गरेको छ, जुन सन् २०२५ को सोही अवधिमा २।१ प्रतिशत मात्रै थियो । कम्पनीका प्रमुख उत्पादनमा रमपम, टुपीएम र प्रिती चाउचाउ रहेका छन् । कम्पनीले सन् २०२५ को जुनमा ‘डेभिल’ ब्रान्डको चाउचाउ सार्वजनिक गरेको थियो, जसले आगामी दिनमा कारोबार वृद्धि गर्ने अपेक्षा गरिएको छ । सन् १९९९ मा स्थापना भएको कम्पनी गत आर्थिक वर्षमा मात्रै पब्लिक कम्पनीमा रूपान्तरण भएको हो । नेपालको ठूलो चाउचाउ उत्पादकमध्ये एक मानिने यो कम्पनी शारडा ग्रुप र जाजु ग्रुपद्वारा सञ्चालित छ । सुनसरीको सोनापुरमा मुख्य उत्पादन उद्योग रहेको कम्पनीले पूर्वी नेपालको तौलिहवामा दोस्रो उत्पादन इकाई सञ्चालनमा ल्याएको छ । उक्त उद्योग गत आर्थिक वर्षको मे महिनादेखि सञ्चालनमा आएको हो।

साथै, कम्पनीले गत जनवरीदेखि सोनापुरमा जुस उद्योग निर्माण सुरु गरेको छ। कम्पनीले रमपम, प्रिती र टुपीएम चाउचाउका साथै कुरमकुरा, क्रेजी र मामा ब्रान्डका स्न्याक्स तथा गुडलाइफ ब्रान्डका पेय पदार्थ उत्पादन गर्दै आएको छ। कम्पनीको स्वामित्व संरचनाअनुसार आनन्द जाजुको २५ प्रतिशत, महेशकुमार जाजुको २४ प्रतिशत, स्रिनिवास शारडाको ११ प्रतिशत, शिवरतन शारडाको १० प्रतिशत, राधेश्याम शारडाको १० प्रतिशत, पवनकुमार शारडाको १० प्रतिशत र अन्य ६ जनाको संयुक्त ११ प्रतिशत हिस्सा रहेको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १ अर्ब ९८ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । यसमध्ये ४४ करोड १० लाख रुपैयाँ दीर्घकालीन कर्जा र १ अर्ब ५४ करोड ५० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *