अध्यादेश प्रतिनिधिसभामा पेस गर्दै प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले आज (वैशाख २८) प्रतिनिधिसभा बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । सरकारले हालै ल्याएको अध्यादेश उनले संसद्मा पेस गर्न लागेका हुन् । यस दिन दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद्को बजेट अधिवेशन आजैदेखि सुरु हुन लागेको हो । बैठकका निम्ति विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा प्रधानमन्त्री बालेनले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ । उनले नै ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्नेछिन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । उनले नै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ । यस्तै, सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका निम्ति पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यसै दिन दिउँसो २ बजे राष्ट्रियसभाको बैठक पनि बस्नेछ । त्यसपछि अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
















