रोयल टुलिप काठमाडौंलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता
काठमाण्डौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र रोयल ट्युलिप काठमाडौंबीच होटललाई सर्वसाधारणमा शेयर निष्काशन (आईपीओ) को प्रक्रियामा लैजान आवश्यक संस्थागत परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार द म्यासिभ होटेल प्राइभेट लिमिटेडलाई प्राइभेट कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने, संस्थागत संरचना सुधार गर्ने तथा आईपीओ जारी गर्न आवश्यक पूर्वतयारीका काममा नबिल इन्भेष्टमेन्टले परामर्श तथा सहजीकरण गर्नेछ । सम्झौतापत्रमा द म्यासिफ होटल प्राइभेट लिमिटेडका अध्यक्ष राजेन्द्र शाक्य तथा नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । फ्रान्सेली अन्तर्राष्ट्रिय होटल चेन ब्रान्ड अन्तर्गत सञ्चालनमा रहेको रोयल टुलिप काठमाडौं ललितपुरको ग्वार्कोमा अवस्थित पाँचतारे होटल हो ।
होटलमा ३०८ वटा कोठा तथा सुइट रुम रहेका छन् । साथै साना तथा ठूला गरी १० वटा बैठक हल रहेको होटललाई नेपालकै धेरै कोठा भएको होटलमध्ये एक मानिन्छ । आधुनिक वास्तुकलामा निर्माण गरिएको होटलमा अत्याधुनिक हेल्थ क्लब, स्पा, इन–हाउस रेष्टुरेन्ट तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम सञ्चालन गर्न मिल्ने सुविधा उपलब्ध छन् । कम्पनीले ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै प्रिमियम आतिथ्य सेवा प्रदान गर्दै आएको जनाएको छ । नबिल इन्भेष्टमेन्टका अनुसार आवश्यक पूर्वतयारी पूरा भएपछि नियामक निकायसँग सार्वजनिक निष्काशनका लागि अनुमति माग्ने प्रक्रिया अघि बढाइनेछ । होटल क्षेत्रबाट सार्वजनिक निष्काशनमा जाने तयारीले नेपालको पर्यटन तथा आतिथ्य उद्योगमा पूँजी बजारको सहभागिता थप विस्तार हुने अपेक्षा गरिएको छ ।
















