‘मानवीयताको सहर’ बनाउने काठमाडौं महानगरको संकल्प

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरलाई सहृदयी, समावेशी ‘मानवीयताको सहर’को रूपमा विकास गर्ने संकल्प अघि सारेको छ । आइतबार आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त संकल्प गरेकी हुन् । नीति तथा कार्यक्रमले सामाजिक न्याय, नागरिक संवेदना र पर्यावरणमैत्री कल्याणकारी अभ्यासलाई प्राथमिकता दिएको छ । महानगरले ‘मानवीयताको सहरः काठमाडौं’ भन्ने मार्गनिर्देशक सन्देश कार्यान्वयनका लागि महानगरवासी र यहाँ आश्रय लिने सम्पूर्ण प्राणीको हित रक्षा गर्ने प्रतिबद्धता जनाएको छ । ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान’ अन्तर्गत महानगर क्षेत्रभित्र बस्ने वृद्धवृद्धा र अशक्त नागरिकहरूलाई घरदैलोमा परामर्श तथा औषधोपचार सुविधा उपलब्ध गराइने भएको छ । ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका अशक्त नगरवासीहरूलाई पोषक आहारको सुरक्षाका लागि नियमित पोषण भत्ता उपलब्ध गराइने उल्लेख छ ।

सहयोगापेक्षी, घरबारविहीन र सडक आश्रित नागरिकको उद्धार, तथा व्यवस्थापनका लागि साझेदार संस्थाहरू र गैरसरकारी निकायहरूसँग समन्वय गरी काठमाडौंलाई ‘सडक आश्रित मानवमुक्त सहर’ घोषणा गरिने जनाइएको छ । डंगोलले मानवीयताले पशुपक्षी र प्रकृतिको सहअस्तित्वलाई समेत समेटेको बताइन् । महानगरभित्रका टोल, विद्यालय, समुदाय र पार्कहरूमा पंक्षीमैत्री अभ्यास सञ्चालन गरिने उनको भनाइ छ । चराचुरुंगीलाई स्वच्छ पानी उपलब्ध गराउन हजारौँको सङ्ख्यामा ‘पानी पात्र’ हरू स्थापना गरिने घोषणा गरिएको छ । सडकका कुकुर र बाँदर नियन्त्रण गर्दा निर्दयी नबनी पशु कल्याणका सिद्धान्तअनुसार मानवीय र वैज्ञानिक उपाय अवलम्वन गरिने उल्लेख छ । पुस्तौँदेखिको मौलिक सीप, शिल्पकला र आधुनिक प्रतिभाको क्षमता प्रमाणीकरण गरी आधिकारिक प्रमाणपत्र जारी गर्ने व्यवस्था मिलाइने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *